भक्तपुर / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ । 

सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौँ, बानेश्वर बस्दै आएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति शुरु गर्दै तत्कालीन जिल्ला विकास समितिका सभापति भएका खत्री २० वर्षदेखि एमालेमा रहँदै आएका थिए । उनले एमालेबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि पराजित भएका थिए ।

विसं १९९२ जेठ १० गते नखेल, शान्तिगाउँमा जन्मनुभएका खत्री साहित्य र समाजसेवामा पनि सक्रिय थिए । भक्तपुरमा साहित्य मन्दिरको स्थापनादेखि सडक, पुलको निर्माण एवं विद्यालय स्थापनामा उनले योगदान दिएका छन् । 

भक्तपुरबाट  १८ वर्षदेखि प्रकाशन हुँदै आएको ‘समय समाज’ साप्ताहिकका संस्थापक अध्यक्ष  खत्रीले पत्रकारिता क्षेत्रमा पनि योगदान पु¥याएको पत्रिकाका अध्यक्ष बालमुकुन्द सुवालले बताए ।

जनजागरण निबन्धसंग्रह, रोगको घर, बारुलो र माहुरी, (बालकथासंग्रह र  किशोर निबन्धसंग्रह), ए बाउ घर छोडी जाऊ (गीतिकवितासंग्रह), हामी अब गर्छौँ (लघुकाव्य), परिवर्तित पाइला (नाटक), खुलाल खत्रीको खोज (अनुसन्धानात्मक पुस्तक) लगायत महाकाव्य, कथा, बालगीत, नाटकलगायत उनका विभिन्न विधाका १४  कृति प्रकाशित छन् ।

सामाजिक विकृति र विसंगतिविरुद्ध साहित्यमार्फत कलम चलाउँदै आएका खत्रीलाई साहित्यमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न संस्थाले सम्मानसमेत गरेका थिए । उनका चार छोरा र तीन छोरी छन् ।