बिर्तामोड / कोरोना सङ्क्रमणको गति रोकिनुको सट्टा झन वढ्न थालेको तथ्याङकले देखाएको छ ।  नेपालमा पछिले साताको विश्लेषण गर्दा संक्रमितको सङ्ख्या ५१ प्रतिशतले वृद्धि भइरहेको छ । कोरोनाबाट नेपालमा ४४ भन्दा बढी जिल्ला प्रभावित भएका छन् ।

भारतभन्दा नेपालमा संक्रमण र मृत्यु दर निकै उच्च रहेको मन्त्रालयका सरुवा रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले जानकारी गराएकी छन् । 

OM Sai Pathibhara Hospital

नेपालमा प्रति १० लाख ३०४ र  भारतमा प्रति १० लाख २४० मात्रै सङ्क्रमण दर रहेको छ । नेपालमा प्रति १० लाखमा ३.३ जनाको मृत्यु भइरहेको छ । यो भारतको भन्दा बढी हो । भारतमा २.५ जनाको मृत्यु भएको तथ्याङ्क छ ।  

पोजिटिभिटी दर भारतभन्दा नेपालमा दोब्बर  छ । प्राप्त विवरणानुसार भारतमा २२.६ प्रतिशत पोजिटिभिटी दर रहेकामा नेपालमा ४५.१ प्रतिशत छ । नेपालमा २०७८ वैशाख २९ गतेबाट सक्रिय सङ्क्रमितको संख्या एक लाख नाघिसकेको छ ।

मुलुकमा पछिल्ला केही दिनदेखि ९ हजारमाथि दैनिक सङ्क्रमित फेला पर्दै आएका छन् भने मृतक  तीन अङ्कमा देखिँदै आएको छ । मुलुकमा अक्सिजन  सिलिण्डर , सघन उपचार कक्ष, भेन्टिलेटर र शय्यासमेत अभाव हुन थालेपछि मृत्युको ग्राफ उकालो लागेको छ ।

संक्रमण नियन्त्रणमा लिन मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । स्थानिय प्रशासनहरुले कोभिड–१९ सङ्क्रमण नियन्त्रणको लागि प्रयास जारी राखेका छन् । मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । 

गत वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास सुरु भएको थियो । वैशाख १६ गते देखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको थियो । एक महिनाका अवधिमा करीब करीब मुलुक नै ठप्प पारिएको छ ।

मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङले निषेधाज्ञा जारी गरेका छैनन् । यद्यपि सङ्क्रमण फैलिन नदिन प्रयास भने जारी राखिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । 

स्वास्थ्यविज्ञले यसपालिको परिवर्तित रुप गत वर्षभन्दा बढी सङ्क्रामक अनि घातक भएको भन्दै अझै केही हप्ता घरमै बसे मात्रै सङ्क्रमणको जालो तोड्न सकिने बताएका छन् ।