काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) एकता पक्षधरहरूबीच औपचारिक रूपमा एकता घोषणा गरिएको छ। बिहीबार काठमाडौंस्थित सभागृहमा आयोजित कार्यक्रममा विविध वाम तथा लोकतान्त्रिक समूहलाई समेट्दै एकीकरण घोषणा गरिएको हो।
घोषणाअनुसार एकतामा सहभागी समूहहरूमा नेपाली कम्युनिष्ट पार्टी, जसपाको एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा (बहुमत) विद्रोही समूह र नेकपा विद्रोही समूह रहेका छन्।
एकताका आधार र रूपरेखा तय गरिएको १० बुँदे सहमति–पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल तथा जसपाको तर्फबाट संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा बोल्ने नेताहरूले राष्ट्रिय राजनीति स्थिरता, आर्थिक सुधार र समावेशी लोकतान्त्रिक परिवर्तनका लागि एकता महत्वपूर्ण कदम भएको बताएका छन्। नयाँ संरचना र नेतृत्व संयोजनबारे विस्तृत जानकारी चाँडै सार्वजनिक गर्ने तयारी गरिएको आयोजकहरूले जनाएका छन्।






































