काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय समुदायलाई बताइरहेका बेला बीबीसीले नेपालको अवस्था भयावह बनेको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा बेड र अक्सिजन अभावले संक्रमितको मृत्युदर बढ्दै गएको निष्कर्ष निकालिएको छ ।

‘अन्य एसियाली मुलुकजस्तै नेपाल पनि कुनै गम्भीर क्षतिबिना पहिलो चरणको महामारी परास्त गर्न सफल भएको थियो,’ बीबीसीले नेपालको अवस्था चित्रण गर्दै रिपोर्टमा लेखेको छ, ‘तर दोस्रो लहर निकै भयानक बनेको छ । अप्रिलको सुरुमा दैनिक संक्रमण दर १५० रहेकोमा अहिले ९ हजार पार गरेको छ । ४ हजारको अहिलेसम्म मृत्यु भइसकेको छ ।’ 

OM Sai Pathibhara Hospital

कोरोना महामारी भयानक हुँदा धेरैले प्रियजनलाई गुमाउनु परेको बीबीसी समाचारमा उल्लेख छ । उसले लेखेको छ– संक्रमण दर उकालो लाग्दै जाँदा लाखौं जनताले आफ्ना प्रियजनलाई गुमाएका छन् ।’ 

अक्सिजनलगायतका स्वास्थ्य सामग्री र औषधिमा नेपाल भारतमा निर्भर रहेको र दक्षिणको छिमेकीले देशभित्रको संकटका कारण यस्ता सामग्री निर्यात बन्द गदा अभाव थप चुलिएको बीबीसी रिपोर्टको सार छ । सरकार र राजनीतिक दलको असफलतालाई पनि यो महामारी निम्तनुको कारण ठानिएको छ । 

‘नेपाल खासगरी स्वास्थ्य सामग्री र अक्सिजनका लागि भारतसँग बढी निर्भर छ । भारतले यसको निर्यात बन्द गरेपछि अवस्था जटिल बनेको छ । वैकल्पिक सप्लाइका लागि काठमाडौं संघर्ष गरिरहेको छ,’ रिपोर्टमा लेखिएको छ ।  

खुला सीमा र स्वास्थ्य मापदण्ड पालनाप्रतिको उदासीनतालाई महामारीको मुख्य कारण औंल्याइएको छ । ‘भारतमा जस्तै नेपालमा पनि केही महिना अघि नै जनजीवन सामान्य बनेको थियो । दैनिक संक्रमित संख्या १०० मा झरेको थियो । अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउने नाममा स्वास्थ्य मापदण्डको ख्याल नगरी गतिविधि गरियो ।’ 

राजनीतिक दलबीचको खिचातानीले पनि कोरोना महामारी नियन्त्रणतर्फ उचित ध्यान नपुगेको ठहर पनि बीबीसीले गरेको छ । 

सरकारी अधिकारीले भने– अवस्था भयावह हुनसक्छ 

अहिले नेपालको संक्रमण दर ५० प्रतिशत अर्थात हरेक दुईमा परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि हुने गरेको तथ्यांक छ । झण्डै ८० हजार संक्रमित होम आइसोलेसनमा उपचाररत रहेको अनुमान गरिएको छ । संक्रमणको दृष्टिले नेपाल विश्वकै नवौं नम्बरमा रहेको यूएनको रेजिडेन्ट को–अर्डिनेटरको भनाइ छ । 

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीले अवस्थालाई तत्कालै व्यवस्थापन गर्न नसके भयावह परिस्थिति निम्तने बताएका छन् । 

‘यदि हामीले तत्काल यो अवस्थालाई व्यवस्थापन गर्न सकेनौं भने अवस्था निकै भयावह हुनेछ,’ बीबीसीसँग सहायक प्रवक्ता अधिकारीले भनेका छन् ।