बिर्तामोड / कोभिडको दोस्रो लहर नेपालमा फैलिएसँगै यस सम्बन्धी मिथ्या सूचनाहरु सामाजिक सञ्जाल मार्फत फेरि फैलिन थालेका छन् । केही दिन यता विभिन्न औषधिका नाम र तिनका तस्बिर ह्वाट्सएप ग्रुप, म्यासेन्जर र फेसबुक मार्फत शेयर गरिएका छन् । ‘कोभिड ट्याब्लेट’ भन्दै शेयर गरिएको उक्त सूचीमा औषधिहरुको नामका साथै तिनलाई सेवन गर्दा लिने मात्रा पनि उल्लेख गरिएको छ ।

सामाजिक सञ्जालमा फैलिएको ‍औषधिको सूची :

OM Sai Pathibhara Hospital

unnamed (1)


काठमाडौँको मनमैजुस्थित संयुक्त फार्मेसीका सञ्चालक रमेश लामिछानेका अनुसार त्यस्तो सूची लिएर औषधि खरिद गर्न मानिसहरु उनको पसलमा आउने गरेका छन् । “३–४ दिनमा करिब ६–७ जना व्यक्ति एकै किसिमको औषधिको सूची लिएर आए । पहिले त मैले कुनै डाक्टरले नै सिफारिस गरेको औषधि होला भन्ने सोचेँ तर पछि मेरै एक आफन्तले मलाई फोटो पठाई यो औषधि फेसबुकमा देखेको सही हो कि हैन भनेपछि  पो थाहा पाएँ,”  लामिछानेले भने । 

औषधिको नाम र तिनको प्रयोग यस प्रकार छन्:

औषधिको नाम र वर्णन

Doxy 100 mg (डोक्सी) : डोक्सी एक एन्टिबायोटिक औषधि हो । आँखा, छाला, श्वासप्रश्वास नली, मूत्र नली आदिमा देखिने विभिन्न प्रकारका ब्याक्टेरिया संक्रमणको उपचारमा यसको प्रयोग गरिन्छ।

Zincovit (जिङ्कोभिट) : जिङ्कोभिट ट्याब्लेट एक मल्टिभिटामिन र मल्टिमिनेरल सप्लिमेन्ट (पुरक) हो । यसलाई शरीमा भिटामिन र पोषण तत्व कमी भएमा सेवन गरिन्छ।

Azithral 500 mg (एजीथ्रल) : एजीथ्रल एक एन्टिबायोटिक हो जुन वयस्क र बच्चाहरूमा श्वासप्रणाली, कान, नाक, घाँटी, फोक्सो, छाला, र आँखामा हुने ब्याक्टेरियाको संक्रमणको उपचार गर्न प्रयोग गरिन्छ। यो टाइफाइड ज्वरो र केही यौन रोगहरू जस्तै गोनोरियाका लागि पनि प्रभावकारी छ।

Limcee 500 mg (लिम्सी) : लिम्सी ट्याब्लेट भिटामिन सी पुरक हो । यसलाई शरीरमा भिटामिन सीको कमी हुँदा प्रयोग गरिन्छ ।

Shelcal 500 mg (सेलकाल) : सेलकाल ट्याब्लेट भिटामिन र पोषणपुरक हो। यसको प्रयोग भिटामिन डी र क्याल्सियमको कमीको उपचार गर्न गरिन्छ भने हाडसम्बन्धी समस्या हुँदा पनि प्रयोग गरिन्छ ।

Ivermectin (इभरमेक्टीन) : यो औषधि जुकाको संक्रमणको उपचार गर्न प्रयोग गरिन्छ।

Dolo 650 mg (डोलो) : डोलो एक प्रकारको प्यारासिटामोल हो । यो ज्वरो आउँदा वा शरीर दुख्दा उपचार गर्न प्रयोग गरिन्छ।

यी औषधिमध्ये जिङ्कोभिट, लिम्सी र सेलकाल भिटामिन र पोषण पुरक औषधिहरु हुन् । डोक्सी र एजीथ्रल एन्टिबायोटिक (औषधि जसले शरीरमा रहेका हानिकारक ब्याक्टेरियाहरूलाई नष्ट गर्दछ वा तिनीहरूको विकास सीमित गर्दछ) हुन् भने डोलो ज्वरोको र इभरमेक्टीन जुकाको औषधि हो ।

यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीन

भिटामिन र पोषणदायक औषधिहरु कोभिड –१९ का बिरामीका लागि उपयोगी हुनसक्ने भएतापनि त्यसको पुष्टि हुन सकेको छैन । त्यसैले यी औषधि चिकित्सकको सल्लाह र सुझाव अनुसार प्रयोग गर्नु उपयुक्त हुने हार्वर्ड मेडिकल स्कुलले प्रकाशित गरेको एक लेखमा जनाइएको छ । 

यसैगरी साइन्सन्युजमा प्रकाशित एक लेखमा भिटामिन सि, डि र जिङ्कको कमी भएका कोभिड संक्रमितलाई मात्र यी दबाइले सहयोग गर्ने उल्लेख गरिएको छ । पुरक औषधि साधारणतया सुरक्षित भएतापनि इन्फेक्सनबाट बच्न चिकित्सकको सल्लाह अनुरुप प्रयोग गर्नु पर्ने उल्लेख गरिएको छ ।

यसैगरी उक्त सूचीमा दुई वटा एन्टिबायोटिक पनि छन् । अमेरिकी स्वास्थ्य सम्बन्धी वेबसाइट हेल्थलाइनका अनुसार एन्टिबायोटिक गलत तरिकाले प्रयोग गरेमा फाइदा भन्दा हानि बढी गर्दछ । एन्टिबायोटिकले ब्याक्टेरियालाई उपचारको लागि प्रतिरोधात्मक बनाउन सक्छ भने यसले प्रतिरक्षा कोशिकालाई क्षति पुर्‍याउँछ र हाम्रो शरीरका सेतो रक्त कोशहरूको क्षमतामा ह्रास ल्याउन सक्छ । 

यसैगरी अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) का अनुसार जरुरी नभई एन्टिबायोटिक प्रयोग गर्नाले हानि गर्दछ । अनियन्त्रित एन्टिबायोटिकले झन् बढी बिरामी बनाउन सक्ने वा अन्य असर गर्न सक्ने सिडिसिले उल्लेख गरेको छ । यसै कारण सिडिसिले चिकित्सकको सल्लाह अनुसार मात्र एन्टिबायोटिक प्रयोग गर्न र अरुलाई सिफारिस गरिएको एन्टिबायोटिक प्रयोग नगर्न सुझाएको छ ।

डा. कल्याण सुवेदीको फेसबुक पोस्टको स्क्रिनसट

unnamed.

यसरी चिकित्सकको परामर्श बिना कुनै पनि औषधि लिनु अनुपयुक्त वा हानिकारक हुने भएकाले कोभिड –१९ को औषधि भन्दै सामाजिक सञ्जालमा फैलिएको सूची भ्रामक भएको ठहर हुन्छ ।