मोरङ / कोरोनाको महामारी फैलिएपछि उपचारमा अति आवस्यक मानिएको ‘रेमडिसिभर’ इन्जेक्सनको कालोबजारीसँगै नक्कली औषधिको बिक्री सुरु भएको खुलासा भएको छ । एक नम्वर प्रदेशको राजधानी विराटनगरमा नक्कली  ‘रेमडिसिभर’ को कारोवारमा संलग्नलाई प्रहरीले पक्राउ गरेपछि यो कुराको खुलासा भएको हो । हेपटाइटिस भाईरस संक्रमणमा प्रयोग भएको  ‘रेमडिसिभर’ कोरोना संक्रमणका विरामीलाई समेत प्रयोग गर्ने गरीएको छ ।


OM Sai Pathibhara Hospital


कोरोनाका विरामीको उपचार भईरहेका अस्पताल आसपासको क्षेत्रमा फार्मेसीबाटै नक्कली  ‘रेमडिसिभर’ औषधि चर्को मुल्यमा बेचबिखन गर्दै गरेको अवस्थामा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

विराटनगरको नोवेल मेडिकल कलेज नजिकको साथि फार्मेसीबाट ९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामको इन्जेक्सनमा रेमडिसिभरको नक्कली स्टिकर लगाएर ७ हजार देखि २५ हजारसम्म मूल्यमा बिक्री गर्ने गरेको फेला परेपछि फार्मेसी संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले फार्मेसी संचालक सोनु आलम र कामदार सरमण यादवलाई पक्राउ गरी उनीहरूले भण्डारण गरेको नक्कली रेमडिशिभर इन्जेक्सन समेत प्रहरीले बरामद गरेको छ । प्रहरीले अनुशन्धान गरीरहेको जनाउँदै पुर्ण विवरण भने सार्वजनिक गरेको छैन ।



पक्राउ परेकाले ९० रूपैयाँमा पाइने ‘स्टासेफ’ नामक इन्जेक्सनमा रेमडिसिभरको लेबल लगाएर चर्को मूल्यमा बिक्री गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् ।  ‘स्टासेफ’ इन्जेक्सन एन्टिबायोटिक औषधि हो । रेमडिसिभर र स्टासेफ इन्जेक्सनको साइज एउटै भएकाले नक्कली लेवल लगाएर बिक्री गर्ने गरेको पाईएको प्रहरी अधिकारीले बताएका छन् । औषधि व्यवसायीले नै नक्कली लेवल लगाएर बिक्री गरेको पाईएपछि प्रहरीले अनुशन्धान टोली नै बनाएर फार्मेसी माथि अनुशन्धान थालेको छ ।

भारतमा प्रतिभाइल भारू २ हजार ८ सय देखि ४ हजार ५ सयमा पाइने रेमडिसिभर नेपालमा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म विक्री हुने गरेको छ । नेपालमा कम्पनी अनुसार फरक–फरक मूल्यका रेमडिसिभर इन्जेक्सन आउने गरेको छ । भारु २ हजार ८ सय र ४ हजार ५ सय रुपैयाँ पर्ने रेमडिसिभरको नेपालमा ल्याउँदा १५ हजारदेखि २५ हजार रुपैयाँसम्ममा खरिदबिक्री हुने गरेको छ ।