बिर्तामोड( नयाँ पत्रिका दैनिकबाट) म्यानमारमा सैनिक कुविरुद्ध आन्दोलनरत प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले बर्बर दमन गरेको छ । सुरक्षाकर्मीको गोलीबाट शनिबार मात्रै सयभन्दा धेरैको मृत्यु भएको छ, जसमा चार बालबालिका पनि छन् ।
समाचार एजेन्सी म्यानमार नावका अनुसार शनिबार ‘सशस्त्र बल दिवस’मा विभिन्न ४० सहरमा ठूलो प्रदर्शन भएको थियो । विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले मृत्यु भएका प्रदर्शनकारीको संख्या फरक–फरक उल्लेख गरेका छन् । म्यानमार नावले एक सय १४ जनाको मृत्यु भएको बताएको छ भने बिबिसीले कम्तीमा ८९ जनाको ज्यान गएको उल्लेख गरेको छ । याङगुनमा मात्रै २४ जनाको मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ ।
म्यानमारकै दोस्रो ठूलो सहर म्यान्डलेमा नेसनल लिग फर डेमोक्रेसी ९एनएलडी० पार्टीको झन्डा बोक्दै प्रदर्शनकारी आन्दोलनमा उत्रिएका थिए । न्युज आउटलेट्सले फेब्रुअरीदेखि म्यानमारमा रक्तपातको रिपोर्टिङ गर्नुपरिरहेको उल्लेख गरेको छ । मुख्य सहर याङगुनस्थित अमेरिकन कल्चर सेन्टर क्षेत्रमा पनि गोली चलेको थियो । तर, त्यसमा कोही घाइते वा प्रदर्शनकारीको मृत्यु नभएको अमेरिकी दूतावासले जनाएको छ । याङगुनमा सेनाले गस्ती बाक्लो पारेको छ ।
१ फेब्रुअरीमा सैनिक कु गर्दै सेना प्रमुख मिन आङ लाइङले राज्यसत्ता हत्याएपछि म्यानमारमा नागरिक प्रदर्शन सुरु भएको थियो । शनिबारसम्म पुग्दा आन्दोलन विशाल भइसकेको छ । दिनहुँजसो प्रदर्शनकारीमाथि गोली प्रहार भइरहेको छ । बिबिसीका अनुसार अहिलेसम्म सेनाको गोलीबाट चार सय प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।
प्रदर्शनकारीले लोकतन्त्र बहाली नहुँदासम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् । उनीहरूले नजरबन्दमा रहेका सबै नेताको रिहाइको पनि माग गरेका छन् ।
गत नोभेम्बरमा भएको निर्वाचनमा प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी एनएलडीले बहुमत प्राप्त गरेको थियो । सेनाको समर्थनप्राप्त युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ९युएसडिपी० नराम्ररी पराजित भएको थियो । निर्वाचनमा धाँधली भएको भन्दै सेनाले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट हालेको थियो । तर, अदालतले त्यसमाथि सुनवाइ गरेको छैन । त्यसपछि सेनाले नेतृ सुकीलगायत एनएलडीका शीर्ष नेताहरूलाई नजरबन्द गर्दै कु गरेको थियो ।
दमनको सर्वत्र विरोध
सेनाद्वारा गरिएको नरसंहारको सर्वत्र विरोध भइरहेको छ । युरोपियन युनियन ९इयू०ले बर्बरतापूर्ण दमनले म्यानमारको ‘७६औँ सशस्त्र बल दिवस’कै अपमान भएको उल्लेख गरेको छ । ‘आजको दिन आतंक र बेइज्जतीका रूपमा कुँदिएको छ, केटाकेटीसहितका हतियारविहीन नागरिकको हत्या आपराधिक कार्य हो,’ इयूले भनेको छ । त्यस्तै, म्यानमारस्थित अमेरिकी र बेलायती दूतावासले पनि विरोध जनाएको छ । बेलायती दूतावासले ‘निःशस्त्र नागरिकलाई गोली हानेर म्यानमार सेना आफ्नै बदनामी’ गरिरहेको प्रतिक्रिया दिएको छ । त्यस्तै, अमेरिकी दूतावासले निहत्था र निर्दोष प्रदर्शनकारीको हत्या भइरहेको बताएको छ । म्यानमारस्थित ह्युमन राइट्स एसियाका प्रतिनिधि फिल रोबट्र्सनले सेनाले गरिरहेको दमनले स्तब्ध बनाएको बताएका छन् । उनले राज्यबाट भइरहेको दमनलाई ‘भयानक’ र ‘बर्बर’ बताउँदै अस्वीकार्य भनेका छन् । यसैबीच अमेरिका र बेलायतले म्यानमार सेनाका दुई माथिल्ला अधिकारीलाई शुक्रबार प्रतिबन्ध लगाएको छ ।
सेना प्रमुख मिन आङको धम्की :‘गोली तपाईंको टाउको वा ढाडमा पनि लाग्न सक्छ’
‘सशस्त्र बल दिवस’का अवसरमा शनिबार सेना प्रमुख मिन आङ लाइङले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले लोकतन्त्र रक्षा गरिरहेको र चाँडै निर्वाचन हुने दाबी गरेका छन् । ‘हामी लोकतन्त्रकै रक्षाका निमित्त काम गरिरहेका छौँ, म्यानमारमा निर्वाचन हुनेछ,’ नेसनल टेलिभिजनबाट सम्बोधन गर्दै सेना प्रमुख मिन आङले भने । उनले निर्वाचन कहिले हुने भन्नेचाहिँ खुलाएका छैनन् । सेना प्रमुख मिन आङले प्रदर्शनकारीलाई चेतावनी दिएका छन् । पछिल्ला दिनमा सैनिक कारबाहीमा निधन हुनेको संख्या हेरेर प्रदर्शनकारीले केही सिक्नुपर्ने उनको भनाइ छ । ‘सेनाको गतिविधिपछि अहिलेसम्म प्रदर्शनकारीले केही सिक्नुपर्ने थियो, गोली तपाईंको टाउको वा पछाडि ढाडमा पनि लाग्न सक्छ,’ उनले धम्कीपूर्ण भाषामा भने । सेनालाई गोली चलाउन आदेश नदिएको उनको दाबी छ ।