बिर्तामोड (नागरीक दैनिकबाट) छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण व्यापक बढिरहँदा रौतहटसँगै तराई मधेसमा पनि संक्रमणको त्रास बढेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरी भौतिक दूरी अपनाएर मास्क र सेनेटाइजरको उपयोग बढाउनुपर्ने भनेपछि जिल्लामा पनि कोरोनाको सतर्कता बढेको छ। कोरोनाको त्रासले सतर्कता बढाए पनि होलीको तयारी भने सर्वसाधारणले गर्न थालेका छन्।  

फागुन महिनाको पूर्णिमाको दिन होलिका दहन गरी भोलिपल्ट होली मनाइने चलन तराई मधेसमा छ। होलीका लागि रङ, अबिर तथा कुर्ता र गन्जी सर्वसाधारणले किन्न थालेका छन्। रौतहटका मुख्य बजार सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, बंकुल, कटहरिया, शिवनगर, मौलापुर, माधोपुर, मलाही, सुकदेव चौकलगायत अन्य ग्रामीण बजारमा पनि होलीका सामान किन्नेको भीड लागेको छ। होलीका लागि आवश्यक सामग्री किन्न गढीमाई नगरपालिकाको समनपुरमा प्रत्येक वर्ष मेला नै लाग्ने गरेको छ।  

OM Sai Pathibhara Hospital

गत वर्ष लकडाउनले बजारदेखि सर्वसाधारणको जीवन प्रभावित भएकाले यसपल्ट भने होलीको समयमा व्यापारमा केही सुधार आएको छ तापनि व्यवसायीमा उत्साह देखिएको छैन। थोक विक्रेताले गत वर्षभन्दा पनि कम व्यापार भएको बताइरहेका छन्।  

रौतहट उद्योग वाणिज्य संघले पनि व्यवसायमा खासै वृद्धि हुन नसकेको तर कोरोनाको पनि डर हट्न नसकेको अवस्थामा भारतमा कोरोनाको संक्रमण बढ्न थालेकाले फेरि व्यापारमा असर पर्ने जनाएको छ। छिमेकी देश भारतमा कोरोनाको संक्रमण बढ्न थालेसँगै व्यापार व्यवसायको क्षेत्रमा पनि चिन्ता बढ्न थालेको उनीहरूको भनाइ छ।  

होलीको समयमा कोरोनाको त्रासबीच सर्वसाधारणले बजारबाट होलीका लागि मसाला, पेय पदार्थ, पिचकारी आदि किनिरहेका छन्। होलीको दिन पेय पदार्थको अत्यधिक खपत हुने भएकाले बजारमा अहिले पेय पदार्थको भरमार देखिएको छ। होलीपछि फेरि लकडाउन हुने हो कि भन्ने आशंकाले सर्वसाधारणले होलीका लागि सामान किन्न खुलेर खर्च गर्न नसकेको पाइएको छ। 

लकडाउन भएपछि फेरि आर्थिक अवस्था धर्मराउने डरले होलीका लागि सामान किन्न खर्च गर्न नसक्दा होलीको व्यापार व्यवसायमा अपेक्षित वृद्धि हुन नसकेको कटहरियाका व्यवसायी नसरुद्दीन अन्सारीको भनाइ छ। सर्वसाधारणले होलीको बजारमा कुनै किसिमको सावधानी अपनाउन नसकेको देख्दा कतै कोरोना संक्रमण फेरि विस्तार हुने त होइनरु भन्ने आशंका पनि बढेको पाइएको छ।