बिर्तामोड( कान्तिपुर दैनिकबाट) कोरोनाविरुद्धको दोस्रो मात्रा खोप वैशाख ७ देखि लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा। तारानाथ पोख्रेलले वैशाख ७–११ सम्म दोस्रो मात्रा खोप दिने गरी तयारी भइरहेको बताए ।

माघ १४ देखि सुरु पहिलो चरणको खोप अभियानमा सामेल ४ लाख ३८ हजार ८ सय ७९ जनालाई दोस्रो मात्रा दिइन लागिएको हो । पहिलो चरणमा स्वास्थ्यकर्मी, कर्मचारीलगायतले ‘कोभिसिल्ड’ खोप लगाएका थिए ।

OM Sai Pathibhara Hospital

दोस्रो चरणअन्तर्गत फागुन २३ देखि खोप लगाएका १२ लाख ३४ हजार ३ सय ४८ जनालाई जेठको अन्तिम वा असारको पहिलो सातादेखि दोस्रो मात्रा खोप लगाउने तयारी रहेको डा। पोख्रेलले जनाए । उनका अनुसार हाल ५ लाख कोभिसिल्ड खोप मौज्दात छ । ‘पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्रा लगाउँदा खेर जान सक्ने खोपको आकलन गर्दै केही बढी खोप सुरक्षित राखेका हौं,’ उनले भने । भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट सम्झौताअनुसार समयमै खोप नआएपछि सरकारले दोस्रो मात्रा दिनकै लागि खोप मौज्दात राख्दै दोस्रो चरणको खोप अभियान स्थगन गरेको थियो ।

विज्ञहरूका अनुसार कोभिसिल्डको दोस्रो मात्रा खोप पहिलो मात्रा लगाएको ८ देखि १२ साताभित्र लगाउनुपर्छ । हालसम्म मुलुकभर १६ लाख ७३ हजार २ सय २७ जनाले कोभिसिल्ड खोप लगाइसकेका छन् । खोप लगाउने कसैमा पनि जटिल स्वास्थ्य समस्या नदेखिएको डा। पोख्रेलको भनाइ छ ।

यसैबीच चीनबाट अनुदानमा प्राप्त हुने कोरोनाविरुद्धको ८ लाख मात्रा खोप सोमबार बिहान आउने भएको छ । नेपालले उक्त खोप आफ्नै ढुवानी खर्चमा ल्याउन लागेको हो । चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड ९बीआईबीपी०, सिनोफार्मले उत्पादन गरेको ‘भेरो सेल’ खोप ल्याउन लागिएको हो ।

औषधि व्यवस्था विभागले ४० दिनअघि यो खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि ससर्त अनुमति दिएको थियो । डा। पोख्रेलका अनुसार यो खोप १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले लगाउन मिल्छ । पहिलो मात्रा लगाएको एक महिनाभित्रै दोस्रो मात्रा लगाउनुपर्छ ।

यो खोप शिक्षक, यातायात व्यवसायी, चालक, औद्योगिक मजदुरलगायत संगठित पेसागत समूहका व्यक्तिलाई लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो । यसबारे अन्तिम निर्णय भने भएको छैन । राष्ट्रिय खोप सल्लाहकार समितिले समेत उक्त खोप शिक्षक, औद्योगिक मजदुरलगायतलाई दिन सकिने सुझाव दिएको छ ।