बिर्तामोड (राजधानी दैनिकबाट) वायु प्रदूषणको मात्रा शुक्रबार दिउँसो एक्कासि चढेपछि मुलुकका मुख्य सहरमा जनजीवन प्रभावित बन्न पुगेको छ । मुलुकभर वन डढेलोका कारण वायु प्रदूषण बढेपछि जनजीवन प्रभावित भएको हो ।
शुक्रबार दिउँसो एक्कासि वायु प्रदूषणका कारण आँखा पोलेको सबैले महसुस गरेका थिए । उपत्यकावासीले धुवाँ र धुलो मिसिएको हावाले भिजिबिलिटी कम भयो । धुवाँ र धुलो मिसिएको हावाले वायुमण्डल ढपक्कै भएको थियो ।
दिउँसो ३ बजेपछि त काठमाडौंको भिजिबिलिटी यति कम भयो कि त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडान हुनै नसक्ने भयो । साढे १२ बजेसम्म काठमाडौं एयरपोर्टमा भिजिबिलिटी ३ हजार ५ सय मिटर थियो तर ३ बज्दा त्यो १ हजार मिटरमा झरिसकेको थियो ।
स्विट्जरल्यान्डको आईक्यूएआइआरका अनुसार शुक्रबार अपराह्न काठमाडौंको एयर क्वालिटी इन्डेक्स १९८ थियो । जसका अनुसार शुक्रबार काठमाडौं संसारका प्रदूषित हावा भएका सहरमध्ये पहिलो स्थानमा पुग्यो । काठमाडौंपछि चीनको राजधानी बेइजिङ ९१८८० र भारतीय सहर मुम्बईको एयर क्वालिटी इन्डेक्स १७४ पुगेको थियो । काठमाडौंको स्टेसनले कम देखाए पनि भक्तपुर, कीर्तिपुर र ललितपुरको भैंसेपाटीमा भने प्रदूषण झन् धेरै देखिए ।
वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार दिउँसो भैंसेपाटीमा इन्डेक्स ४ सय ४३, कीर्तिपुरमा २ सय २१ र भक्तपुरमा २ सय २० थियो । एक्यूआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १ सयसम्मलाई मोडरेट मानिन्छ । एक्यूआई १ सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २ सयसम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्यूआई ३ सय पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानुचाहिँ घातक हो । काठमाडौंको हावामा शुक्रबार धुलोसँगै धुवा पनि मिसिएको छ ।
‘वायुमण्डलमा धुलोसँगै धुवाँ पनि मिसिएको देखिएको छ । धुवाँ धेरै मिसिएकाले आँखा पोल्ने समस्या भएको हो,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले भने । काठमाडौंको हावामा यति धेरै धुवाँ कहाँबाट आयो भन्ने खुलिनसकेको उनले बताए । पूर्वसचिव तथा मौसमविद् ऋषिराम शर्माले देशका विभिन्न भागमा भएको आगलागीको असर काठमाडौंमा परेको हुन सक्ने बताए ।
गृह मन्त्रालयका अनुसार पछिल्लो साता देशका विभिन्न १ सय १० भागमा आगलागी भएको छ । ‘यो सिजन नै आगलागीको हो । अहिले काठमाडौं आसपासका क्षेत्रमा धेरै आगो लागेको छ । त्यही भएर यहाँको हावामा धेरै धुवाँको मिसिएको देखिन्छ,’ शर्माले भने, ‘वायुमण्डलको माथिल्लो तह न्यानो भइराखेकाले हावा सतहको वायुमण्डलमै रहेको छ ।’
चारैतिर घेरिएको काठमाडौं उपत्यकाको भूबनोटले इन्भर्सन लेयर बन्न सजिलो हुन्छ । ‘सामान्यतः बिहान भएपछि सतहको हावा तात्दै जाने र माथि चिसो हुने हुन्छ,’ उनले भने, ‘तर कहिलेकाहीँ इन्भर्सन लेयर बनेर माथिको हावा न्यानै रहेपछि तलबाट हावा माथि जान सक्दैन । आज ९शुक्रबार० पनि त्यस्तै भएको हो ।
कचौरा आकारजस्तो उपत्यका भएकाले पनि काठमाडौंमा यस्तो बेला हावा बाहिर जान नसक्ने शर्माले बताए । उनले भने, ‘वायुमण्डलको माथिल्लो तहको हावाले काठमाडौंको सतहको हावालाई लैजान सक्दैन । त्यसैले, पनि यो यहीँ घुमिरहन्छ ।’ रिलिज हुन नपाएको काठमाडौंको हावामा गाडी मोटर, इँटाभट्टाको धुवाँ र धुलो मिसिएकाले प्रदूषण ह्वात्तै बढेको उनले बताए । पानी परे वा बेस्सरी हावा चलेमा काठमाडौंको प्रदूषण कम हुने उनले बताए ।
विज्ञहरूले काठमाडौंको हावा घातक भएकाले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन, कम सवारीसाधन चलाउन र मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन् । यसअघि गत पुस २० गते काठमाडौं संसारकै प्रदूषित हावा भएको सहर बनेको थियो ।
‘सकभर बाहिर ननिस्कनु’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र वायु प्रदूषण बढेको भन्दै सकभर बाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइलगायत स्वास्थ्य समस्या देखिन सक्ने भन्दै घर बाहिर खुला स्थानमा नबस्न अपिल गरेको हो । मर्निङ वाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले फोहोरको उचित व्यवस्थापन गर्ने र फोहोर जलाउने काम नगर्न आग्रह गरे । धुलो, धुवाँ उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्य केही दिनलाई स्थगन गर्न सम्बद्ध निकायलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । केही दिनपछि त्यस किसिमका पेसा, व्यवसाय निर्माणका कार्य सुरु गर्दा धुवाँ नउड्ने वा कम हुने व्यवस्था गर्न अपिल गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीले वायु प्रदूषण बढेको भन्दै यो बेला अत्यावश्यक नभई सवारी साधन नचलाउन आग्रह गरे । स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल राख्न र घरबाहिर खुला स्थानमा नबस्न पनि अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का लागि तोकिएको जनस्वास्थ्यको मापदण्ड पालना गर्न(गराउनसमेत अनुरोध गरेको छ ।
शुक्रबार नै ४ सय ३७ ठाउँमा डढेलो
विगत केही दिनदेखि तराई तथा पहाडका विभिन्न वन क्षेत्रमा डढेलो लाग्नेक्रम बढेको छ । चैतको दोस्रो सातासम्म आइपुग्दा देशभरका वनजंगलमा डढेलो फैलिएको हो । वन विभागको तथ्यांकअनुसार शुक्रबार मात्रै देशका विभिन्न ५४ जिल्लाका ४ सय ३७ ठाउँका वनजंगलमा आगलागी भएको छ । आगलागी हुनेक्रम अझै बढ्ने देखिएको छ ।
वन विभागका अनुसार पश्चिम र मध्य तराई एवं पश्चिमी तथा मध्यपहाडी क्षेत्रका वनमा बढी डढेलो लागेको छ । विगतका वर्षमा भन्दा यो वर्ष डढेलो लाग्नेक्रम बढी देखिएको वन विभागले जनाएको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०१६(१७ मा ४८ जिल्लाको ३ सय १० स्थानमा डढेलो लागेको थियो भने २०१७÷१८ को सोही अवधिमा ६१ जिल्लाको ४ सय ९५ स्थान तथा २०१८(१९ मा ६३ जिल्लाको ८ सय १ स्थानमा डढेलो लागेको थियो ।
२०१९(२० मा ३७ जिल्लाको १ सय ६५ स्थानका वन क्षेत्रमा आगलागी भएको थियो । तर, सन् २०२० को नोभेम्बर १५ देखि २०२१ को मार्च २५ सम्म ७३ जिल्लाका २ हजार ८७ स्थानमा आगलागीका घटना भएको विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार विगत चार वर्षको समीक्षा अवधिमा कुल १ हजार ७ सय ७१ वटा डढेलोका घटना भएकोमा यो वर्षको हालसम्मको अवधिमा त्यस्तो संख्या २ हजार नाघेको छ ।