झापा(रासस)  / मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन् । विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन् ।

वैदेशिक रोजगारीका लागि कतार, साउदी अरब, कुवेत तथा मलेशिया लगायत  पुगेका मोरङका १०  युवाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केराखेती लगाएका छन् ।

OM Sai Pathibhara Hospital

उक्त केरा खेतीबाट वार्षिकरुपमा प्रतिबिघा तीन लाख रुपैयाँ सम्म आम्दानी गर्ने लक्ष्यका साथ कार्य गरिरहेको सोम केराखेती कृषि फार्मका धनी सोमनाथ चापगाईले जानकारी दिए । वैदेशिक रोजगारीमा तीन वर्षदेखि पाँच वर्षसम्म काम गरी स्वदेश फर्केका यी युवा व्यावसायिक केराखेती गरेर केही गर्ने सोचमा देखिएका छन् । तातो घाममा काम गर्नुभन्दा स्वदेशकै अनुकूल हावापानी र वातावरण काम गर्नु नै उचित ठानेका यी युवा कृषि क्षेत्रमा लागेका हुन् ।

परनिर्भरता हटाउने, व्यापार घाटा कम गराउने र स्थानीयस्तरमा रोजगार पनि सिर्जना गर्न सकिने भएकाले यसमा यी युवा आकर्षित भएका हुन् । अनेक सम्भावना रहेको हाम्रो मुलुकमा जाँगर नभएपछि विदेशिने गरेको र विदेशमा दुःख पाएपछि स्वदेशमै केही गर्न हिम्मत गर्नु सकारात्मक पक्ष रहेको कृषि निर्देशनालय विराटनगरका प्रमुख प्रकाश डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो “यो पेशामा शिक्षित युवाको सहभागी हुने निकै सुखद पक्ष हो । यसले गर्दा देशमा आवश्यकतापर्ने वस्तुहरुको अभाव टर्छ ।” 

‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको घोषणालाई अब युवाकै काँधमा रहेको टिप्पणी गर्दै प्रमुख डाँगी भन्छन्, “पछिल्लो समयमा कृषिमा युवाको आकर्षण बढ्नु राम्रो हो ।” केरा खेतीबाट केही नभए पनि वार्षिक प्रतिबिघा रु तीन लाख आम्दानी गर्न सकिने युवा कृषक सोमनाथ  चापागाईले जानकारी दिए ।

सुन्दर हरैँचा नगरपालिका निवासी चापागाई मोरङकै कानेपाखरीमा वार्षिक ५० हजार रुपैयाँ तिर्ने गरी लगाइएको केराखेतीमा ३० जना युवाले रोजगारी पाएका छन् । केरामा सबैको सजिलै पहुँच छ, तर उत्पादनमा कमजोर रहेको हाम्रो मुलुकमा केरा खासगरी भारतबाट आयात हुने गरेको छ । पछिल्लो समयमा केरा खाने उपभोक्ता बढेपछि यसको आपूर्तिमा मोरङ ,कैलाली, नवलपरासी र सुनसरी जिल्ला अघि सरेको छ । मोरङको होक्लाबारीमा लालुमाया कृषि फार्म, प्रगति कृषि फार्म, सोम केराखेती कृषि फार्म, अम्बरमणि कृषि फार्ममार्फत व्यावसायिक केराखेती शुरु भएको छ ।

सोम केराखेती कृषि फार्मका धनी चापागाईले केराको बिरुवा प्रदेश नं २ को निजगढबाट ल्याएका हुन् । बिरुवा र रोप्नेसमेत गरी एक बोटमा रु ४२ खर्च भएको जानकारी दिँदै केरा रोपेको १८ महीनापछि उत्पादन दिन थाल्छ । एक बोटमा १२ दर्जनसम्म केरा फल्छ, बजारमा मालभोग केराको माग पनि रहेकाले बिक्री गर्न कुनै समस्या नभएको कृषक चापागाईको भनाइ छ ।

रोग नलागेका अवस्थामा एकपटक रोपेको बिरुबाले १२ वर्षसम्म उत्पादन गर्न सकिने उनले बताए । केराको घारी काटिसकेपछि सोही स्थानमा पुनःकेराको बिरुवा उम्रिन्छ । यो नै केराखेतीको मूल विशेषता भएको कृषक चापागाईको भनाइ छ । केरा गर्मी हावापानीमा हुने बाली  भए पनि बढी आद्रतादेखि लिएर धेरै कम आद्रता भएको हावापानीमा पनि यसको खेती गरेको भेटिन्छ ।

कम तापक्रममा केराखेती फस्टाउँदैन । यसका लागि गर्मी चाहिन्छ । यसका लागि औषत तापक्रम २६ दशमलव सात डिग्री सेल्सियस तापक्रम र प्रतिमहीना १० मिली सिँचाइको आवश्यकतापर्ने पानी जम्ने ठाउँमा केराखेती हुँदैन कृषि प्राविधिक बताउँछन् ।

नेपालमा मालभोग, विलियम हाइब्रिड, चिनियाँ चम्पा, हरिछाल, रोवस्टा र डवार्फ क्याविन्डिज जातको खेती गरिँदै आएको पाइन्छ । नेपालमा हरियो केराको तुलनामा पहेंलो केराको बढी मूल्य पाइँने हुँदा पहेंलो केरामा मालभोग केरा नै कृषकले बढी रुचाएका छन् । 

अर्का व्यवसायी हरिनारायण श्रेष्ठले भन्छन् – “राम्रो आम्दानी हुने यो खेती गर्दा बीमा पनि गरेको छु,  कुनै कारणले बाली नोक्सान भएमा बीमा कम्पनीले क्षति पनि व्यहोर्ने भएकाले जोखिम छ । ”

उनले केरा खेतीका लागि तीनदेखि पाँच लाख रुपैयाँ सम्मको जोखिम व्यहोर्ने गरी प्रतिबिघा पाँच हजार दुई सय रुपैया बीमा रकम भुक्तानी गरेको जानकारी दिए । उनले केराखेतीमा आवश्यकपर्ने मल नेपालमा उपलब्ध नहुने भएकाले भारतबाट मगाउने गरेको बताए । यस खेतीका लागि आवश्यकपर्ने युरिया, डिएपी, स्ल्फेट, पोटास, क्याल्सियम, बोरेक्स र बोमप्लावर चाहेका बेलामा नेपालमा नपाउने भएकाले भारतबाट मगाउने गरेको जिकिर उनको छ ।