तनहुँ/ तनहुँका मुख्य भाग आजभोलि घरले भरिएका छन् । कङ्क्रिटले बनेका संरचनाका कारण शहरमा खाली ठाउँ भेट्न मुस्किल छ । खेतीका लागि बारी भेट्नु त परको कुरा । शहरमा खेतीका लागि बारी नभए पनि एक महिलाले भने विगत केही वर्षदेखि आफ्नै घरको कौसीमा तरकारी फलाइरहेकी छन् ।

दमौलीको मुख्य बजार व्यास नगरपालिका–२ कालिकामार्ग निवासी कल्पना गौलीले खेतबारी नभए पनि कौसीमा प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गरेकी छन् । उनले घरको कौसीमा करीब एक दर्जन थरीका तरकारी र जडीबुटी लगाएकी छिन्। उनको घरको कौसीमा मात्र होइन, हरेक तलाको बरण्डामा समेत गमलामा तरकारी फलेको छ ।

OM Sai Pathibhara Hospital

घरमा भ¥याङलगायतको भाग छोड्दा जम्माजम्मी आधा आनाभन्दा केही बढी ठाउँ बाँकी छ । त्यसमा पनि पानी जम्मा गर्ने दुई वटा ठूला ट्याङ्की त्यसभित्रै अटेका छन् । त्यो बाँकी रहेको ठाउँमा उनले सिमेन्टको गारो उठाएर त्यसमा माटो भरेर तरकारी लगाएकी छिन्। 

उनको कौसीमा मौसमअनुसारको तरकारी लगाइएका छन् ।  काउली, ब्रोकाउली, कुरिलो, बोडी, साग, धनियाँ, मेथी, सुप, चम्सुर, सिमी, मूला, स्थानीय जातको गोलभेँडा, प्याज र लसुन, घिरौँला, चिचिन्डा, काँक्रो, बोडी, लौका, फर्सी र पिँडालु उत्पादन गर्ने गर्छिन्् । त्यसैगरी जडुबुटीतर्फ घोडटाप्रे, तितेपाती, सिस्नो, कालो हलेदो, पतिना, घ्युकुमारी पनि कौसीमा उत्पादन हुन्छ । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ शाखा महिला उद्यमी समितिको अध्यक्ष र माँ दुुर्गा नामक धार्मिक संस्थाको संस्थापक अध्यक्ष रहेकी गौलीले सामाजिक कामबाट बचेको समयको व्यवस्थापन र तरकारीमा आत्मनिर्भर बन्ने उद्देश्यले नै कौसीखेती गरेको बताइन्। “छिमेकीहरुले तरकारी बेच्न सुझाव दिए पनि बिक्री गर्ने प्रयोजन अहिलेसम्म छैन, बरु कहिलेकाहीँ धेरै उत्पादन भयो भने छिमेकी र साथीभाइलाई उपहार पठाउँछु”, उनले भनिन् ।