काठमाडौं । भोटेकोशी बाढीमा फसेका नागरिकको उद्धार तथा प्रभावित क्षेत्रमा राहत व्यवस्थापनका लागि प्रधानमन्त्री राहत कोषमा ठूलो मात्रामा रकम जम्मा भएको छ ।

प्रधानमन्त्री बालेन शाहका अनुसार विभिन्न ९ वटा वाणिज्य बैंकका खातामा गरी ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ ।

त्यसैगरी हिमालयन बैंक र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर सहयोग रकम जम्मा भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् ।

विपद्को कठिन परिस्थितिमा स्वदेश तथा विदेशबाट प्राप्त भइरहेको सहयोगलाई पारदर्शी र व्यवस्थित रूपमा परिचालन गर्ने सरकारको तयारी रहेको बताइएको छ ।

प्रधानमन्त्री शाहले सहयोग रकम सही ठाउँमा पुग्ने सुनिश्चित गर्न तथा सम्भावित वित्तीय ठगीबाट नागरिकलाई जोगाउन सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र बैंक खातामार्फत मात्रै आर्थिक सहयोग गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,

“विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष)मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।”

भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि ठूलो आर्थिक स्रोत आवश्यक भइरहेका बेला कोषमा जम्मा भएको यो रकमलाई प्रभावित नागरिकको उद्धार र राहतमा प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने चुनौती सरकारसामु देखिएको छ ।

सरकारले सहयोगका नाममा व्यक्तिगत खाता, अनधिकृत क्यूआर कोड वा अन्य माध्यमबाट रकम संकलन नगर्नसमेत सर्वसाधारणलाई सचेत गराएको छ ।