काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाएका दुई युवाका परिवारसँग सहमति भएपछि सरकारले त्यसको कार्यान्वयनमा पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र नागरिकको विश्वास जोगाउन दृढ रहेको बताएका हुन्।
सरकार र पीडित परिवारबीच भएको सहमतिअनुसार मृतक ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइनेछ। साथै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत, घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माणका लागि आवश्यक समन्वय गर्ने सहमति भएको छ।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सरकारले गरेको सहमति केवल घोषणा नभई कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। उनका अनुसार छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक कानुनी र प्रशासनिक निर्णय अगाडि बढाइनेछ।
सहमतिपछि शुक्रबार नै मृतकद्वयको अन्तिम संस्कार गर्ने तयारी गरिएको छ। सरकारले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनको दायरामा ल्याउने र पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता जनाएको छ।






































