काठमाडौं— व्यवसायी दीपक भट्ट र उनका व्यावसायिक साझेदारहरूमाथि बैंकिङ, धितोपत्र र बिमा क्षेत्रसँग सम्बन्धित अर्बौं रुपैयाँको शंकास्पद कारोबार तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा चारवटा मुद्दा दायर गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकको छानबिन प्रतिवेदनका आधारमा विशेष अदालत, पाटन उच्च अदालत र काठमाडौं जिल्ला अदालतमा ८६ जनाविरुद्ध अभियोग दर्ता गरिएको हो। प्रारम्भिक सुनुवाइसमेत सुरु भइसकेको छ।
अनुसन्धानका क्रममा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टले आफ्नो वार्षिक आम्दानी करिब ३० करोड रुपैयाँ रहेको बताएका छन्। तर, जगदम्बा स्टिल्सलाई बुझाएको ७५ करोड २६ लाख रुपैयाँको स्रोतबारे सोध्दा उनले तत्काल खुलाउन नसक्ने र पछि कारोबार हेरेर जानकारी दिने बताएका थिए।
अनुसन्धान अधिकारीहरूका अनुसार वैध आम्दानीभन्दा धेरै ठूलो आर्थिक कारोबार, स्रोत नखुलेको रकमको प्रयोग तथा कानुन छलेर वित्तीय सञ्जाल सञ्चालन गरेको आशंकामा भट्ट र उनका साझेदारमाथि मुद्दा दायर गरिएको हो।
यस प्रकरणमा शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल, उपाध्यक्षद्वय शुलभ र साहिल अग्रवाल, गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका राजबहादुर शाह, लक्की समूहका अमित मोरलगायत व्यवसायी पनि प्रतिवादी बनाइएका छन्। अभियोजनमा दीपक भट्टको हकमा करिब २७ अर्ब रुपैयाँ र शुलभ अग्रवालको हकमा २५ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ।
अभियोगपत्रअनुसार घटनाको सुरुआत २०७९ सालमा जगदम्बा स्टिल्सले मेगा इन्भेस्टमेन्ट बैंकमार्फत दीपक भट्टको खातामा ५४ करोड ५० लाख रुपैयाँ पठाएपछि भएको थियो। भट्टले उक्त रकम ललितपुरको सानेपास्थित जग्गाको बैनाबापत प्राप्त गरेको दाबी गरेका छन्।
तर अनुसन्धानकर्ताहरूले भने बैंकबाट लिइएको कार्यशील पूँजी कर्जा कानुनविपरीत जग्गा कारोबारमा प्रयोग गरिएको र त्यही रकम विभिन्न खातामा घुमाएर लगानी तथा कारोबार गरिएको निष्कर्ष निकालेका छन्।
त्यसपछि भट्टले जगदम्बा स्टिल्सलाई ७५ करोड २६ लाख रुपैयाँ फिर्ता पठाएका थिए। उनले यो रकम ब्याजसहित बैना फिर्ता गरेको बताएका छन् भने अनुसन्धान पक्षले यसलाई विभिन्न पारिवारिक खातामार्फत गरिएको 'राउन्ड ट्रिपिङ' अर्थात् कृत्रिम कारोबारको हिस्सा मानेको छ।
सिद्धार्थ बैंकको निरीक्षण प्रतिवेदनअनुसार उक्त रकमको अधिकांश हिस्सा अग्रवाल परिवारका सदस्यहरूको खाताबाट विभिन्न चरणमा भट्टको खातामा पुगेको देखिएको छ। अनुसन्धानकर्ताहरूले यसलाई बैंक ऋणको रकम विभिन्न खातामा घुमाएर पुनः एउटै उद्देश्यका लागि प्रयोग गरिएको प्रक्रिया भएको दाबी गरेका छन्।
यस्तै, धितोपत्रसम्बन्धी मुद्दामा भट्टले अग्रिम रकम नतिरी भृकुटी स्टक ब्रोकिङमार्फत ३ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर खरिद गरेको आरोप लगाइएको छ। कानुनअनुसार कम्तीमा २५ प्रतिशत अग्रिम रकम अनिवार्य भए पनि त्यसको पालना नभएको अभियोगपत्रमा उल्लेख छ।
अभियोजन पक्षका अनुसार यही उधारो कारोबारका कारण नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाइएको थियो। यसमा भृकुटी स्टक ब्रोकिङ, हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापिटल तथा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबीच मिलेमतो भएको दाबी गरिएको छ।
यसैबीच, विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दीपक भट्टसहित ३९ जनाविरुद्ध प्रारम्भिक सुनुवाइ सुरु गरिसकेको छ। अदालतमा भट्टको बयान जारी रहेको र त्यसपछि अन्य प्रतिवादीको बयान लिइने जनाइएको छ। बयान सकिएपछि उनीहरूलाई थुनामा राख्ने वा धरौटी अथवा साधारण तारिखमा रिहा गर्ने भन्ने विषयमा अदालतले निर्णय गर्नेछ।





























