काठमाडौँ। निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ ।
आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ । आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ । सो कार्यक्रम यही मङ्सिर २६ गतेसम्म चल्नेछ ।
नामावलीमा रहेको त्रुटि सच्याउने नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायकपर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख छ ।
मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालयमा गई वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन अनुरोध गरिएको छ ।






































