काठमाडौं । नेपाली कांग्रेसमा १४औं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको कार्यकाल आगामी मंसिर मसान्तसम्म छ । अबको डेढ महिनापछि केन्द्रीय कार्यसमितिले आफ्नो कार्यकाल नथपे स्वतः अवैधानिक हुनेछ । त्यसैले मंसिरमै नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्न कांग्रेसमा आवाज उठेको छ । २४ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर पार्टी नेतृत्वलाई बुझाइसकेका छन् ।
तर ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरलाई अवमूल्यन गर्नै संस्थापन पक्षका पाँच नेता महाधिवेशनको बाधक बनेका छन् । जसमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र प्रकाशशरण महत छन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलनअघि सिटौला, सिंह, महत, गोपालमान श्रेष्ठ, शशांक कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार एक ठाउँमा उभिएका थिए । उनीहरूले पार्टी सभापति शेरबहादुर देउवाले आफूहरूलाई सभापतिमा सहयोग गर्ने आश गरेका थिए । तर देउवाले खड्कालाई कार्यबाहक सभापति दिएपछि अहिले त्यो समूह छिन्नभिन्न भएको छ । खड्कालाई कार्यबाहक सभापति दिएकोमा गोापलमान, विमलेन्द्र निधि, शशांक कोइरालाले स्वीकार गर्न सकेका छैनन् । कांग्रेसमा अहिले सिटौला, खड्का, महत, सिंह र निधि एक ठाउँमा उभिएका छन् । उनीहरू कुनै पनि हालतमा मंसिरमा नियमित वा विशेष महाधिवेशन होस् भन्ने पक्षमा छैनन् ।
जेनजी आन्दोलनको रापताप कायमै रहेकाले मंसिरमै महाधिवेशन भएमा आफूहरूको हालत दयनीय हुने देखेपछि उनीहरू चलखेलमा लागेका छन् । सोही कारण अहिले संस्थापन पक्षको भेला हरेक दिनजसो हुने गरेको छ । जहाँ देउवा निकट नेताहरूले कार्यबाहक सभापति खड्कालाई कुनै पनि हालतमा मंसिरमा नियमित वा विशेष महाधिवेशन गर्न नदिन दबाब बढाउँदै आएका छन् ।
कांग्रेस नेताहरूका अनुसार संस्थापन पक्ष आगामी वैशाखमा महाधिवेशन गराउने पक्षमा देखिएको छ । तर त्यसका लागि पनि मौजुदा केन्द्रीय कार्यसमितिको कार्यकाल थप्नुपर्ने हुन्छ । तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कुनै पनि हालतमा केन्द्रीय कार्यसमितिको कार्यकाल थप गर्ने पक्षमा छैनन् । जसले गर्दा अहिले उनीहरूलाई कमजोर तुल्याउन संस्थापन पक्षका नेताहरूले इतर पक्षले पार्टी फुटाउन खोजेको भनेर हल्ला चलाउन थालेका छन् ।
सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक दिएर महाधिवेशन उन्मुख हुन आग्रह गरेका थिए । तर, हल्ला भने पार्टी फुटको चलाइएको छ । नियमित र विशेष महाधिवेशनको चक्करका बीच कांग्रेस फुट्नेसम्मका हल्ला भित्रबाटै चलाइएका हुन् । ख्यगरी संस्थापनपक्षीय नेताले म्याद सकिन लागेको महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको राजनीतिक औचित्य नरहेको दाबी गरेका छन् ।
फागुन २१ गतेको निर्वाचनको चापले मंसिरभित्र महाधिवेशन हुनै नसक्ने अडान संस्थापन पक्षले राखेको छ । मंसिरमा महाधिवेशन पनि नहुने र म्याद सकिएपछि ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरे पनि विशेष महाधिवेशन डाक्न नहुने उनीहरूको दाबी छ ।
चुनावअगाडि महाधिवेशन हुन नसक्ने र विशेष महाधिवेशनमा जानु भनेको पार्टी फुटेबराबर हुने अर्थ संस्थापनभित्रैका नेताले लगाएका छन् । नियमित महाधिवेशन नगर्दा ५४ प्रतिशतको मागलाई सम्बोधन गर्न विशेष महाधिवेशनमा जानुपर्ने हस्ताक्षरकर्ता पक्षको माग छ । पार्टीले औपचारिक रूपमा नबोलाए छुट्टै भेला बोलाउने र विशेष महाधिवेशनको प्रक्रियामा अगाडि बढ्नेसम्मको तयारीमा अर्को पक्ष लागेको छ ।
‘आफूलाई चुनेका बहुसंख्यक प्रतिनिधिले हस्ताक्षर गरेपछि सभापतिले कार्यवाहक दिएको स्थिति एकातिर छ । तर, संस्थापनका नेताहरू म्याद सकिएका प्रतिनिधिको हस्ताक्षरले विशेष महाधिवेशन हुँदैन भन्दैछन्,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘तर, उनीहरू नियमित महाधिवेशन पनि गर्न हुँँदैन भन्ने अडानमा छन् । अनि पार्टी विधानको प्रक्रियामा अगाडि बढ्दा पार्टी फुटाउन खोजेको न्यारेटिभ बनाउन खोजिरहेका छन् ।’
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        