काठमाडौं । रास्वपा केन्द्रीय सदस्य डा.तोसिमा कार्कीले पार्टी नेतृत्वलाई कार्यशैली सच्याउन आग्रह गरेकी छन् । रास्वपा सभापति रवि लामिछानेले शनिबार राति सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेपछि कार्कीले त्यसप्रति कडा आपत्ति जनाएकी छन् । चारैजना गत निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।
पार्टी रिफर्मेसन र कार्यकारी नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठिरहेका बेला विस्तारित बैठकसमेत नकुरी हतारमा सचिवालयमा चार सदस्य मनोनीत गर्नु उचित नभएको उनको भनाइ छ । पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको थियो। त्यसैको लागी विस्तारित बैठक तोकिएको थियो। महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागि दुई हप्तामा हुन लागेको बिस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो। हामीले खोजेको रिफर्मेसन यो होईन। कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो,’ कार्कीले भनेकी छन् ।
उनले पार्टी लोकतान्त्रिक हुन नसकेको भन्दै कार्यशैली सच्याउन चेतावनी दिएकी छन् । ‘फेरि पनि भन्दैछु हामी थप लोकतान्त्रिक हुन जरुरी छ। कार्यशैली सच्याउन जरुरी छ। पार्टीका गतिविधिहरुमा संगठनको जरा जराले अपनत्व महसुस गर्न सक्नुपर्छ। पुन? दोहोर्याउँछु, विस्तारित बैठकमा पार्टीको संगठनको बृहत सहभागिता र भोटिङ राइटसको सुनिश्चित गरियोस् भनी माग गर्दछु। भोटिङ राइटस नदिने भए देशभरिबाट चितवनसम्म बोलाएर, समय, पैसो, श्रम खर्च गरेर निर्णयको अधिकार नदिने भए बैठकको औचित्य छैन,’ उनले आइतबार सामाजिक सञ्जालमा भनेकी छन् ।
नेतृ कार्कीले केही समयअघि पार्टी पुनर्गठनको मागसहित पार्टीमा सुझाव पेस गरेकी थिइन् । जसमा अहिलेको नेतृत्व परिवर्तनको माग गरिएको थियो । कार्की मापदण्डमा परेर पनि सचिवालय सदस्यमा मनोनीत भइनन् ।