काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा ‘आजको संकट र पार्टी पुनर्गठन’ विषयक प्रस्ताव पेश गरेका छन् ।
जेनजी आन्दोलन, वर्तमान परिस्थिति, पार्टी नेतृत्व, महाधिवेशन लगायतका विषयमा उनले १६ पृष्ठ लामो प्रस्ताव पेश गरेका हुन् ।
उनले विभिन्न परिस्थिति केलाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहज रूपमा नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सार्न सुझाव दिएका छन् । उनले यसका लागि दुई वटा विकल्प पनि दिएका छन् ।
एक, तत्कालै पार्टीका वरिष्ठतम नेतालाई कार्यवाहकको जिम्मेवारी दिएर आगामी महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धाको आधारमा नयाँ नेतृत्व निर्वाचित गर्ने ।
दोस्रो, पार्टी अध्यक्ष कमरेडको नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने ।
उनले महाधिवेशन मार्फत नेतृत्व हस्तान्तरणको पूर्व घोषणा ओलीले गर्ने र महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गर्ने विकल्प सुझाएका हुन् ।
‘यसमध्ये कुन विकल्पमा जाने अध्यक्ष कमरेडको अन्तरआत्मलाई छाडिदिने,’ योगेशले भनेका छन् । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णय सच्याउनुपर्ने पनि बताएका छन् ।