काठमाडौं । सामाजिक अभियन्ता ई. ले आफूलाई एमाले अध्यक्ष केपी ओली र राजावादी दुर्गा प्रसाईसँग दाँजेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन रिसाएका छन् ।

ई.ले बुधबार राति सामाजिक सञ्जाल फेसबुकमा बालेन, ओली र दुर्गाको कार्यशैली र राजनीतिक व्यवहारमा धेरै अन्तर नभएको टिप्पणी गरेका थिए । ‘समयले मलाई गलत प्रमाणित गरोस् भन्ने आशा सहित यो भन्दै छु । केपी, बालेन, दूर्गा जस्ता पात्रहरूबीच फेस भ्याल्युमा वैचारिक भिन्नता होला, तर राजव्यावहारिक रूपमा धेरै अन्तर छैन। तिनीहरू आफ्नो अटलता र वर्चस्व कायम गर्न जुनै पनि हदसम्म जान तयार हुन सक्छन्,’ उनले लेखेका थिए ।

ई.ले यस्ता पात्रहरूभन्दा विकसित र गतिशील नेतृत्वको लागि समाजमा गम्भीर आत्मसमीक्षा जरुरी रहेको बताएका थिए। ई. को स्टाटसमा प्रतिक्रिया जनाउँदै बालेनले पुराना नेताहरू पदमा बसिरहेको अवस्थामा आफूले नयाँ पुस्तालाई अगाडि आउन आग्रह गरिरहेको जिकिर गरेका छन् ।

‘८० वर्ष पुग्दा पनि आफू प्रधानमन्त्री बन्ने, आफू अध्यक्ष बन्ने देशमा मैले ३५ वर्षकै उमेरमा तपाईंहरु आउनुस्, देश चलाउनुस् भनिरको छु त, ई सर । सबैजना मिल्नुस, बालेनलाई मात्र नेता नसोच्नुस्, तपाईंहरु पनि लिडर बन्नुस । म तपाईंलाई प्रधानमन्त्री, पार्टीको अध्यक्ष बनाउन तयार छु, सबै नयाँलाई मिलाएर ल्याउनुस्, म कार्यकर्ता बन्न तयार छु,’ बालेनले प्रतिक्रिया दिएका छन् । बालेनले थप भनेका छन्, ‘देश मलाई नै छोड्ने हो भने त, म, बिना एकजना मन्त्री एक्लै देश बनाइदिन सक्छु, तर यस्तो कुराले म बन्छु, देश बन्दैन ।’

सामाजिक अभियन्ता ई.को पोस्टमा धेरैले उनको समर्थन गरेका छन् । बालेनलाई धेरैले सुध्रिन सल्लाह दिएका छन् । भदौ २३ को जेनजी आन्दोलन उठाउन ई. परिवारको ठूलो भूमिका छ । उनका भाइ इशतबहादुर अधिकारी जेनजी आन्दोलनका शहीद हुन् ।