काठमाडौं – नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन् । बुधबार काठमाडौंमा एक अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए ।
गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिहरुबीचको एकता अत्यावश्यक भएको बताए ।
‘अहिले विप्लवजीको पार्टीसँग मात्रै नभएर देश, जनता र समयको मागअनुसार नेकपा (एस) सँग पनि एकताका लागि छलफल चलेकोछ,’ गुरुङले भने ।
नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकोले पनि छिटो एकता गर्न सहज हुने बतउँदै गुरुङले भने,‘समाजवादी क्रान्तिका लागि न्यूनतमदेखि अधिकतम कार्यक्रम, संगठन कसरी बलियो बनाउने, सदन र सडकसम्म संघर्ष कसरी गर्ने भन्नेलगायतका विषयबारे छलफल गरेर एकता आधार तयार गर्नुपर्नेछ ।’
स्थायी समिति बैठक जनार्दन शर्मा केन्द्रीत भएको रहेछ नि ? भन्ने संचारकर्मीहरुको प्रश्नमा गुरुङले भने पार्टीमा घनिभूत छलफल भएको र पार्टी थप एकताबद्ध भएको बताए ।
‘पार्टी बलियो बनाउनुका साथै विचार मिल्ने शक्तिहरुसँग एकता गर्ने बेला आएको छ । अहिले देशमा बढ्दै गएको राजनितिक संकटले पार्टी मजबुत बनाउनुपर्ने बेला कोही कसैका विचारलाई निषेध गर्नु हुन्न, गर्न पनि सकिँदैन,’गुरुङले थपे ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेर निरन्तररुपमा सदन अबरुद्ध गर्दा महत्वपूर्ण विधेयकहरु रोकिने भएकाले २ बुँदे सहमति गरेको विषय स्थायी कमिटीले सहि भएको मूल्याङकन गरेको गुरुङले बताए ।
कुलिङ पिरियड प्रकरणबारे बनेको छानविन समितिले सहि निष्कर्ष निकालेर त्यसलाई सच्याउनु पर्छ भन्ने आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि बताए ।
त्यसैगरी कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य कर्णजित बुढाथोकी शुसिलले माओवादीले स्थायी समितिबाट आफ्नो पार्टीसँग एकता गर्ने भन्ने निर्णय स्वागतयोग्य रहेको बताए ।
समाजवादी मोर्चा कर्णाली प्रदेश इन्चार्जसमेत रहेको शुसिलले आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा तथा समाजवादी क्रान्तिको लागि माओवादी धार र समाजवादी मोर्चामा आवद्ध पार्टीबीच एकता ध्रुविकरण हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै शुसिलले २०८४ सालमा देश पुनः माओवादीमय हुने दाबी समेत गरे । उनले पार्टी एकतापछि निरास भएका जनता र कार्यकर्ताहरु समाजवादको लागि माओवादी आन्दोलनमा पुनः सक्रिय हुने बताए ।
उनले दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद चाहने शक्तिहरुबीचको एकता धुर्बिकरण आवश्यक रहेको बताए ।
शुसिलले नयाँ पुस्ता र अवसरबाट बन्चित भएका इन्मान्दार र कर्तव्यनिष्ठ क्षमतावान व्यक्ति–व्यक्तित्वहरुको नेतृत्व सुनिश्चतता हुने गरी एकता हुनुपर्ने धारणा राख्दै भने,‘राईट मेन, राइट प्लेस र राइट टाईमको अवधारणालाई एकताले आत्मसाथ गर्नुपर्छ ।’
अबको एकतामा सबैले आ–आफ्नो ठाउँबाट रुपान्तरण हुँदै देश, जनता र वर्गको नेतृत्व गर्ने प्रतिबद्धता जनाउँनुपर्ने कुरामा जोड दिए ।
समाजवादको लागि उत्पादन महत्वपूर्ण भएको बताउँदै आफ्नो पार्टी श्रम र उत्पादनको माध्यमबाट पनि अगाडि बढिरहेको बताए ।