काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको आधा कार्यकाल सकिएको सन्दर्भमा संसद, सरकार र प्रतिपक्षको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले २०७९ सालको निर्वाचनबाट गठन भएको प्रतिनिधिसभाले जेठ महिनासम्म आइपुग्दा आधा कार्यकाल पूरा गरिसकेको जनाउँदै यस अवधिको कार्यसम्पादनको समिक्षा गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘२०७९ सालको निर्वाचनबाट गठन भएको यो प्रतिनिधिसभा गएको जेठ महिनामा आईपुग्दै गर्दा आफ्नो आधा कार्यकाल पूरा गरिसकेको छ । यो बेलामा समिक्षा जरुरी छ । निर्धारित दायित्वको आधा बाटो हामी कुशलतापूर्वक हिड्न सकेका छौं की छैनौं भनेर ।’
शर्माले संसदले सबै नागरिकको अपनत्व गास्न कति सफल भयो, सरकार कति प्रभावकारी रह्यो र प्रतिपक्षले सुझाव र दबाब दिने भूमिकामा कति जिम्मेवार बन्दै गयो भन्ने प्रश्नहरू उठाए ।
उनले भने, ‘सबैको अपनत्व गास्न संसद कत्तिको सफल हुन सकिरहेको छ , सरकार प्रभावकारी कत्तिको भएको छ ? प्रतिपक्षमा रहेका दलहरु सुझाव र दबावको भूमिकामा कतिको प्रखर र जिम्मेवार बन्न सकेका छन् ? नागरिक पङ्क्तिमा रहेको असन्तोषलाई क्रमश आशा र विश्वासमा बदल्न हामी कत्तिको सफल भैइरहेका छौं ? ।’
सांसद शर्माले संसदलाई केवल कानुन र बजेट निर्माण गर्ने थलो मात्र नभई आस्था र विश्वास सम्प्रेषण गर्ने साझा आस्थाको थलोको रूपमा समेत चित्रण गरे।
उनले संसदको कार्यशैली र व्यवहारले जनतामा आशा र भरोसा जगाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘संसद सरकार र कानुन बनाउने र बजेट बनाउने थलो मात्रै होइन आफ्नो कार्यशैली र व्यवहारबाट आस्था र विश्वास सम्प्रेषण गर्ने साझा आस्थाको थलो हो । त्यो अभिभारा एकको मात्र होइन, हामी सबैको हो । सरकारको हो, प्रतिपक्षको हो, ठूला साना सबैको हो । ’