काठमाण्डौ । चीनबाट आएको बाढीमा परेर रसुवामा १५ जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार जिल्लाको टिमुरेमा बाढीमा १५ जना बेपत्ता भएका हुन् ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा बाढी आएपछि उद्धार गर्न खटिएका ३ जना प्रहरी सम्पर्क विहीन भएका छन् ।
चीनमा परेको अविरल वर्षाको कारण आएको बाढीमा परेर टिमुरे स्थित ड्राइपोर्टमा कार्यलयका केही मजदुरहरू पनि सम्पर्कविहीन भएको रसुवाका डीएसपी हेम शाहीले बताए । उनले भने, ‘ड्राइपोर्टमा काम गर्नेहरू पनि सम्पर्क विहीन भएका छन्, खोजी र उद्धार भइरहेको बताए ।’
इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र जवान लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका हुन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार चार जना चिनियाँ कामदारसहित १५ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा तिनजना प्रहरी पनि रहेको बताइएको छ । नौ जनाको उद्धार गरिसकेको उनले बताए ।