काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले देशमा धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा जोगाउन सबै नागरिकलाई जिम्मेवार र संयमित बन्न आग्रह गरेका छन्।
शुक्रबार जारी विशेष सन्देशमा उनले नेपाल धर्म, भाषा, जातजाति र संस्कृतिको विविधताले भरिएको देश भए पनि आपसी सम्मान, सहिष्णुता र सद्भावकै आधारमा अघि बढ्दै आएको बताए। उनले “विविधतामा एकता नै नेपालको शक्ति र पहिचान“ भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति फरक भए पनि राष्ट्रप्रतिको साझा भावना सबैको एउटै रहेको स्पष्ट पारे।
प्रहरी प्रमुख कार्कीले विशेषगरी सामाजिक सञ्जालमा फैलाइने अफवाह, उत्तेजक अभिव्यक्ति र कानुनविपरीत गतिविधि ले समाजमा तनाव, अविश्वास र विभाजन सिर्जना गर्ने चेतावनी दिए। यस्ता गतिविधिमा संलग्न नहुन र सत्यतथ्य नबुझी कुनै पनि सामग्री साझा नगर्न उनले नागरिकलाई आग्रह गरेका छन्।
उनले पछिल्लो समय पूर्वी तराईका केही क्षेत्रमा धार्मिक सद्भाव बिगार्ने प्रयास र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिएको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरे। यस्तो संवेदनशील अवस्थामा उत्तेजनाभन्दा विवेक, घृणाभन्दा सद्भाव र विभाजनभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
प्रहरी प्रमुखले सबै समुदायबीच आपसी सम्मान, सहिष्णुता र भाइचाराको भावना कायम राख्दै सामाजिक सद्भाव सुदृढ बनाउन सम्पूर्ण नागरिकसँग सहयोगको अपिल गरेका छन्।






































