काठमाडौं— नेकपा (एमाले) का सांसद तथा सहकारी ठगी छानबिन संसदीय समितिका अध्यक्ष सूर्यबहादुर थापा क्षत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा थालिएको हस्ताक्षर अभियानलाई 'राजनीतिक प्रोपोगाण्डा'को संज्ञा दिएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै थापाले लामिछानेमाथि सहकारीको बचत रकम ठगी प्रकरणमा अदालतमा आधा दर्जनभन्दा बढी मुद्दा चलिरहेको अवस्थामा रास्वपाको हस्ताक्षर अभियान निरर्थक रहेको बताए।

'२०७९ असार ७ गतेदेखि भैरहवा कारागारमा रहेका व्यक्तिको नाममा १५ पृष्ठको याचनापत्र आएको छ। त्यसको आधारमा अहिले हस्ताक्षर संकलन चलाइएको छ,' उनले भने, 'सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा मुद्दा विचाराधीन छन्। यस्तो बेला चलाइएको अभियान राजनीतिक प्रतिशोधको शैलीमा गरिएको प्रचार मात्रै हो।'

थापाले अदालतको आदेश कुनै हस्ताक्षर संकलनले नबदल्ने भन्दै रास्वपाको अभियानलाई ‘आफ्नो रोटी सेक्ने उपक्रम’को संज्ञा दिए।

'म दाबीका साथ भन्छु, सर्वोच्च अदालतको आदेश कुनै हस्ताक्षरले परिवर्तन गर्न सक्दैन,' उनले प्रस्ट पारे।