वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद निर्णय र एकपछि अर्को कठोर नीतिका कारण देशभित्रै उनको लोकप्रियता धराशायी बन्दै गएको छ। सन् २०१६ को चुनावमा उत्साहपूर्वक जित हासिल गरेका ट्रम्पले पदभार सम्हालेको केही महिनामै सर्वत्र आलोचना भोगिरहेका छन्।

जनवरी १५ मा राष्ट्रपति बनेदेखि ट्रम्पले छिमेकी देशहरू मेक्सिको, क्यानडा र डेनमार्कसँग समेत विवाद सिर्जना गरेका छन्। उनले आयातमा लगाइएको भारी भन्सार शुल्कले अमेरिकी जनताको आक्रोश चुलिएको छ। खासगरी चीनबाट आयात हुने सामानमा १४५–२२५ प्रतिशतसम्म भन्सार तोकिएपछि घरायसी सामान महँगिन थालेको छ, जसको असर सीधै आम नागरिकको भान्सासम्म पुगेको छ।
यसकै प्रतिक्रियामा अमेरिकाका ५० वटै राज्यमा ट्रम्प विरोधी र्यालीहरू भव्य रूपमा आयोजना भएका छन्। सर्वसाधारण मात्र होइन, अब सर्वेक्षणहरूले पनि उनको लोकप्रियता भयावह रूपमा घटेको देखाएका छन्।
लोकप्रियता घट्दो, आलोचना चुलिंदो
एबीसी, वासिङ्टन पोस्ट र आइपिएसओएसद्वारा गरिएको संयुक्त सर्वेक्षण अनुसार, पद सम्हालेको १०० दिनभित्रै ट्रम्प लोकप्रियता गुमाउने पछिल्ला ७० वर्षकै पहिलो राष्ट्रपति बनेका छन्। फागुनमा ४५% अमेरिकीले उनलाई सकारात्मक रुपमा हेरेका थिए, तर हाल त्यो संख्या घटेर ३९% मा झरेको छ।
अझ त्यो ३९% मध्ये पनि केवल २१% ले मात्र ट्रम्पलाई पूर्ण समर्थन गरेको देखिएको छ, जबकि ५५% नागरिकले उनको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
आर्थिक नीतिमा जनताको विश्वास घट्यो
७२% जनताले वर्तमान सरकारको आर्थिक नीतिले देशलाई चाँडै मन्दीमा लैजाने विश्वास व्यक्त गरेका छन् भने ७३% ले अमेरिकी अर्थतन्त्र गलत दिशामा गइरहेको टिप्पणी गरेका छन्। CNN र SSRSS को अर्को सर्वेले पनि ट्रम्पको लोकप्रियता मार्चमा ४५% बाट घटेर अप्रिलमा ४१% मा आइपुगेको पुष्टि गरेको छ।
५३% अमेरिकीले ट्रम्पको सत्ता सम्हालाइपछि देशको आर्थिक अवस्था बिग्रिएको जनाएका छन् भने ४१% ले व्यक्तिगत आर्थिक अवस्था पनि ओरालो लागेको बताएका छन्।
एकतर्फी निर्णय र भन्सार नीतिले संकट
विशेषगरी ट्रम्पको एकल निर्णयमा लगाइएको अत्यधिक भन्सार शुल्कको असर स्टक मार्केटमा देखिएको छ। बजारमा मूल्य वृद्धि, आपूर्ति संकट र व्यापारमा अनिश्चितता आएको छ।
हाल उनको निर्णय जे भए पनि समर्थन गर्नेको संख्या घटेर २२% मा सीमित छ, भने विपक्षमा ठाडो विरोध जनाउनेको संख्या ४५% पुगेको छ।