काठमाडौं— पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्डमा पर्ने १४ किलोमिटर दाउन्ने सडकखण्डको विस्तार गर्न दैनिक ४ देखि ६ घण्टा बाटो बन्द गरी काम गरिने भएको छ। सडकविस्तार गर्न २० दिनमा ४—६ घण्टा बाटो बन्द गरेर भएपनि काम गरिने भएको हो ।

चैत २७ गतेदेखि वैशाख १५ गतेसम्म बाटो बन्द गरिने भएको हो। पहिलो ५ दिन विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टा र बाँकी १५ दिन राति ११ बजेदेखि विहान ५ बजेसम्म बाटो बन्द गरेर काम गरिने भएको हो। यहाँ ३ लेनको सडक बन्नेछ।
यसअन्तर्गत चैत २७ गतेदेखि ३१ गतेसम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टा र वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि विहान ५ बजेसम्म बाटो बन्द हुनेछ।
यसका लागि सडक विभागले सूचना जारी गरी ट्रक, टिपरलगायत हेभी सवारीसाधनलाई पूर्वमा अरुणखोला र चोरमारामा रोकिने तथा पश्चिममा ज्यामिरे हकुई खण्डमा रोकिने जनाएको छ।
त्यसैगरी यात्रुवाहक बस, मिनी बस, जिप कारलगायत सवारीसाधनलाई पूर्वमा दुम्किबासमा र पश्चिममा बर्दघाट चिसापानीमा रोकिने आज सडक विभागले जारी गरेको सूचनामा जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले सडक विस्तार गरिरहेको चाइना स्टेट कम्पनीले सडकमा गाडीको चाप हुँदा काम गर्न नपाएको भन्दै गुनासो गरेपछि पहिलो ५ दिन दैनिक ४ घण्टाको दरले सवारी आवागमन बन्द गरेर बाटोका खाल्टाखुल्टी पुर्ने र बाटो सम्याउन समय निर्धारण गरिएको छ।
वैशाख १ गतेदेखि १५ गतेसम्म दैनिक राति ६ घण्टा पहाड काट्न समय दिनेगरी निर्यण भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।
जिल्ला ट्राफिक प्रहरी प्रमुखसमेत रहेका प्रहरी निरीक्षक जनक बन्जाराका अनुसार चैत २७ देखि ३१ गतेसम्म ५ दिन विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि विहान ५ बजेसम्म सवारीसाधन रोकेर सडक विस्तार गरिने भएको हो।
यसअघि निर्माण कम्पनीले दैनिक सवारी आवागमन बन्द गरेर काम गर्न माग गरे पनि निश्चित समयभित्र काम सक्ने प्रतिबद्धता नजनाएका कारण प्रशासनले सवारी आवागमन रोक्ने निर्णय लिन सकेको थिएन।
अहिले पनि निर्माण कम्पनीले कुनै प्रतिबद्धता भने नजनाएको नवलपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।