भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कुनै पनि हालतमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका छन् । वासु मावि कालीघाट व्यासी भक्तपुरको आज आजोजित ६३औँ वार्षिकोत्सव पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रममा उनले राजतन्त्र फर्कने सम्भावना नरहेको उल्लेख गरे ।
अध्यक्ष बिजुक्छेँले भने, ‘प्रजातन्त्रप्राप्तपछि राजनीतिक दलले जनताको मन जित्ने गरी काम गर्न नसक्दा निराशा छाएको छ । तर त्यसको अर्थ अब राजा चाहिन्छ भन्ने होइन, जसरी सानो छँदाको कपडा ठूलो भएपछि काम लाग्दैन, त्यसरी नै गइसकेको राजतन्त्र कुनै हालतमा फर्कदैन र फर्किन दिनुपनि हुन्न ।’

प्रजातन्त्र पुनःस्थापनापछि बनेका सरकारहरुले अपेक्षाअनुसारको काम गर्न नसकेको उनको भनाइ थियो । वर्गीय रुपमा राजाहरु गरिब वर्गको नभई सामन्त वर्गमै हित गर्ने भएको उनले बताए । अध्यक्ष बिजुक्छेंले राजनीतिक दलका नेताहरु आफ्ना कमजोरीका कारण जनता राजाका पक्षमा फर्केलान भन्ने त्रासमा रहेको उल्लेख गरे ।