धरान (सुनसरी) । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको सुपर लिग समीरण पूरा भएको छ । प्रदेशका ११ जिल्लाका च्याम्पियन क्लबबीच भएको समूह चरणको लिगमा समूह विजेता टिम सुपर लिग (अन्तिम चार) मा प्रवेश गरेका छन् । 

समूह ‘ए’ बाट पाँचथर युनाइटेड, ‘बि’ बाट उदयपुरको गाईघाट फुटबल क्लब, ‘सि’ बाट धनकुटाको देउराली युथ क्लब र समूह ‘डि’ बाट खोटाङको बुइपा–११ क्लब सुपर लिगमा प्रवेश गरेका हुन् ।

OM Sai Pathibhara Hospital

शुक्रबार धरान रङ्गशालामा भएको खेलमा धरान फुटबल क्लबलाई २–२ गोलको बराबरीमा रोकेपछि बुइपा समुह विजेता बनेको हो । यसअघि बुइपाले ताप्लेजुङको प्रगतिशील फुटबल क्लबलाई पराजित गरी तीन अङ्क बटुल्न सफल भएको थियोे ।

कूल चार अङ्क भएको बुइपा समूह विजेता हुँदा धरान फुटबल क्लबले एक अङ्क र प्रगतिशीलले भने कुनै अङ्क जोड्न सकेन । बुइपाका लागि डिकेन राई र मिलन राईले गोल गरेका थिए । एक गोल र एक असिस्ट गरेका बुइपाका डिकेन आजको खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद रु पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।

समूह ‘सि’ अन्तर्गत आज भएको अन्तिम खेलमा इलामको रेडहर्ष क्लब र झापाको धाइजन क्लबको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । खेल बराबरीमा सकिएपछि दुवै समूह सुपर लिगबाट बाहिर भएका हुन् । धाइजनका लागि सागर रसाइली र पुजन थापाले गोल गरेका थिए भने रेडहर्षका लागि विनोद धमला र साँगे शेर्पाले गोल गरे । रेडहर्षका विनोद धमला म्यान अफ दी म्याच घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत लिगको विजेता र उपविजेता समूह राष्ट्रिय लिगको छनोटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्नेछन् । लिग विजेताले रु दुई लाख पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख ५० हजार, तेस्रो हुनेले रु एक लाख २५ हजार र चौथो हुने समूहले रु एक लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।