काठमाडौं— हिजोदेखिको लगातार वर्षाले देशका सबै नदी र खोलामा बाढी आएको छ । एक सयभन्दा धेरै वर्षामापन केन्द्रमा सतर्कता तह भन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, नारायणी, बागमती, पश्चिम राप्ती, तिनाउ, बाणगङ्गा, मेची, कन्काइ, लालबकैया लगायतका नदी र ती नदीका सहायक नदी तथा खोलामा बाढीले सतर्कता तह पार गरेको छ । अरू नदी खोलामा पनि बाढी आएकाले उच्च सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

OM Sai Pathibhara Hospital

विभागले बाढीको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित ठाउँमा जान र सतर्क भएर बस्न आग्रह गरेको छ । त्यस्तै अनावश्यक यात्रा नगर्न, होचो भू–भागमा भए सुरक्षित र उचाइमा रहेको ठाउँमा जान तथा बाढीका सूचनाबारे अपडेट रहन विभागले आग्रह गरेको छ ।

विभिन्न ठाउँमा सडक अवरुद्ध

लगातारको वर्षासँगैको पहिरोले मुख्य राजमार्ग ठप्प भएको छ । काठमाण्डौ उपत्यका जोड्ने त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा बाढीपहिरोका कारण हिजोदेखि गाडी चल्न सकेका छैनन्।

काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा नजिकै पहिरो खस्दा हिजोदेखि नै सडक अवरुद्ध भएको छ । सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । बर्दीबास–सिन्धुली–खुर्कोट–धुलिखेल जोड्ने बीपी राजमार्गको काभ्रेको भ्याकुरे खोला र चारसय बेँसीमा सडक अवरुद्ध भएको छ। चारसय बेँसीमा सडकमाथिबाट लेदो खसेको हो भने भ्याकुरे खोलामा बाढीले ह्युमपाइप बगाएको छ।

बनेपामा पनि बाढीले सडक अवरुद्ध भएको छ । काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–पाखेल र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पनि पहिरोले अवरुद्ध भएका छन् । हेटौँडा–काठमाडौं जोड्ने सडकका विभिन्न ठाउँमा सडकमाथिबाट ढुङ्गा र लेदोसहितको पहिरो खसेकाले अवरुद्ध भएको र वर्षाका कारण पहिरो पन्छाउन नसकिएको मकवानपुर प्रहरीले जनाएको छ ।

सरकारले हिजो र आज रात्रिबस नचलाउन आग्रह गरेपछि काठमाण्डौ प्रशासनले हिजो थानकोट हुँदै बाहिरिने गाडी कलङ्की, थानकोट र नयाँ बसपार्कमा रोकेको छ भने चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाएको छ । हिजो बेलुकी ७ बजेदेखि बन्द गरिएको मुग्लिन–नारायणगढ सडक आज बिहान ५ बजेपछि सडक खुलाउने भनिए पनि नौकिलो भन्ने ठाउँमा सडक भासिएकाले खुल्न समय लाग्ने मुग्लिन प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा पनि सडक अवरुद्ध भएको छ । लगातार पानी परेका कारण पहिरो खसेको ठाउँमा सडक खुलाउन समय लाग्ने र अरू ठाउँमा पनि पहिरो खस्ने सम्भावना भएकाले सकेसम्म यात्रामा ननिस्कन र सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । 

उपत्यका जलमग्न

हिजोदेखिको लगातार वर्षाले काठमाण्डौ उपत्यकाका बिभिन्न बस्ती र सडक जलमग्न भएका छन् । बागमती, विष्णुमती, खोकना, बल्खुखोला, धोबीखोला, कर्मनाशा, मनोहरा लगायतका खोला किनाराका बस्ती डुबानमा परेका हुन् । खोकना, गौरीघाट, नख्खु, बलम्बु, गोंगबु बसपार्क क्षेत्रमा बाढी पसेको छ । कुलेश्वरको खाद्य गोदाममा बाढी पसेर क्षति भएको प्रहरीले जनाएको छ।

ललितपुरको इमाडोल र कुसुन्ती क्षेत्रमा पनि केही घरमा बाढी पसेको छ । नक्खु खोला र बागमती खोलाको दोभानमा पनि केही घर डुबानमा परेको छ । कीर्तिपुरको सुन्दरीघाट तथा बलम्बुको बालकुमारी बस्तीमा पनि बाढी पसेको छ।

मौसम पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा डुबान तथा बाढीको उच्च जोखिम रहेको भन्दै आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन अपिल गरेको छ । यस्तै विभिन्न ठाउँका सडक पनि जलमग्न भएका छन् । पानीको उचित निकास नहुँदा कतिपय सडक खोला र पोखरीजस्ता भएका छन् । जलमग्न सडकमा गाडी चलाउन र हिँडडुल गर्न पनि समस्या भएको छ ।

ग्याससहितको बुलेट बगाउँदा त्रास

मनोहरा खोलाले ग्यास बुलेट बगाएको छ । बाढीले बगाएर ल्याएको उक्त बुलेटबाट ग्यास चुहिएको पाइएको छ ।

ग्यास चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीय त्रसित बनेका छन् । 

अहिले च्यासल क्षेत्रमा ग्यासको कडा गन्ध आइरहेको स्थानीयले बताएका छन् । बगेको बुलेट अहिले च्यासलस्थित एमाले केन्द्रीय कार्यालय नजिकैको पुलमा अड्किएको छ । यो पुलले काठमाडौंको दोभान क्षेत्र र ललितपुरको च्यासललाई जोड्छ । प्रहरीले ग्यास बुलेट कहाँबाट बगाएर ल्याएको खुलिनसकेको जनाएको छ ।

उडान प्रभावित

लगातारको वर्षाको कारण देशैभरका विमास्थलबाट हुने आन्तरिक उडान स्थगित गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका कारण हिजो बेलुकीदेखि आज बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको हो । तर आज पनि निरन्तर झरी पर्ने र मौसम नखुल्ने भएकाले आजको उडान पनि नहुने भएको छ । 

लगातारको वर्षाका कारण हिजो आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । आन्तरिकतर्फ धेरै विमानस्थलमा उडान हुन सकेन भने अन्तर्राष्ट्रिय उडानतर्फ केही विमान लामो समय होल्ड भएर अवतरण गरेका थिए ।

हिजोका लागि तय भएका एकसय ५० वटा आन्तरिक उडानमध्ये ३९ वटा मात्र उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

बाढी पहिरोले लियो ज्यान

काभ्रेको तेमाल गाउँपालिका- ७ मा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ। बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा  श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।

काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ । पनौती नगरपालिका वडा नम्बर ११ बल्थलीस्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको हो । मध्यराति गाउँ माथिबाट पहिरो आएसँगै स्थानीयको भागाभाग भएको थियो ।

पहिरोमा परेर ४ जना बेपत्ता छन् । थुम्कीका अर्जुन भण्डारीको घर पहिरोले बगाएको छ । भण्डारीको घरमा पाहुना आएका ४ जना बेपत्ता रहेको बताइएको छ । स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ ।

त्यस्तै ललितपुरमा पहिरोका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चुनिखेलमा पहिरोले घर बगाउँदा ४८ वर्षीया महिलाको मृत्यु भएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए । 

यसैगरी  पहिरोमै परेर चापागाउँको टाखेलमा ५४ वर्षीया महिला र छम्पीमा एक जना महिलाको मृत्यु भएको छ । 

छम्पीमा पहिरो खस्दा घरमा बसिरहेका आमा छोरा मध्ये छोराले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ । 

त्यस्तै पाँचथरको फिदिम नगरपालिका- ४ चिसापानीमा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ। फिदिम १२ घर भएकी २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनीहरूलाई बिहान ४ बजेतिर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) हेमन्त भण्डारीले जानकारी दिए। केही टाढा डेरा गरी बस्ने उनीहरू शुक्रबार राति साथीको घरमा सुत्न आएको प्रहरीले जनाएको छ। प्रहरीले जनाएको दुवैजनाको शव निकालिसकेकोछ। पहिरोले आदिवासी महासंघ पाँचथरको भवन पनि पुरेको प्रहरीले जनाएको छ।

यस्तै धनकुटा पाख्रिबास नगरपालिका गुँरासेका सन्तोष तामाङ्गको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ३२ वर्षीया आशा तामाङ्ग र आमा ५० वर्षीया रामकुमारी तामाङ्ग बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

नदीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका- १ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो। 

यसैगरी, गौरीगञ्ज गाउँपालिका- ३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन्।  शुक्रबार अपराह्न करिब ४ बजे गौरीगञ्ज- २ भाकुरमारी सुकुमवासी बस्ती बस्ने ५० वर्षीय केमालाल ताजपुरिया हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। 

त्यसैगरी कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ। 

अपराह्न करिब ४:४० बजे सो घटनाबारे प्रहरीमा जानकारी आएको थियो। खोलामा बेपत्ता कमलका चौधरी, गौरीगञ्जका ताजपुरिया र कचनकवलकी पञ्चुको खोजीमा स्थानीय प्रहरी र स्थानीवासीहरू जुटे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

त्रिशूली नदीमा बाढीले गोरखाको गण्डकी गाउँपालिका-१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका-३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ।  

अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०:१० बजे आयोजनाको तीन टिपर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह-प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिए। 

नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिप्पर, दईवटा एक्साभेटर नदीको बीचमा फसेको थियो। 

नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उनले बताए। ब्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिपर र एक्साभेटर नदीले बगाएको छ।