काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाबाट उत्पन्न विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानले सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सामाजिक न्यायमा आधारित समाज निर्माण गर्ने लक्ष्य राखेको उल्लेख गरेका हुन् ।

OM Sai Pathibhara Hospital

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तन मात्र पर्याप्त नभएको भन्दै राज्यसत्ताको चरित्र र राजनीतिक निष्ठामा पनि परिवर्तन आवश्यक भएको बताए । साथै, संविधानले प्रतिवद्ध गरिएका सेवासुविधा र सामाजिक सुरक्षाको समान पहुँच आवश्यक रहेको धारणा व्यक्त गर्दै देशको समृद्धिका लागि उपलब्ध स्रोतको न्यायोचित वितरणको आवश्यकता रहेकोमा उनको जोड छ । 

राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सबैलाई सम्मान व्यक्त गर्दै अमूल्य जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जली अर्पण पनि गरेका छन् ।