अहिले बालबालिका पाठ्यपुस्तक पढ्नुभन्दा पनि मोबाइल हेर्न नै बढी रुची राख्छन् । हुन पनि प्रविधिको विकाससँगै सामाजिक सञ्जालसहितका विभिन्न एपहरूले बालबालिकाको रुची अनुसारकै सामग्री प्रस्तुत गर्दा उनीहरू घण्टौँ हराउने गर्छन् । यस्तो अवस्थामा हामीले बालबालिकाको भावनालाई बुझेर उनीहरूको ध्यान पुस्तक र अध्ययनमा लगाउन जरुरी छ । 

त्यसका लागि तपाईं अभिभावक पनि केही समय बच्चा झै भएर उनीहरूकै दैनिकीमा हराउन जरुरी छ । यस्ता केही टिप्स छन् जसले बालबालिकामा अध्ययनको रुची जाग्न सक्छ तपाईंले पनि एक पटक प्रयोग गर्ने कि !

OM Sai Pathibhara Hospital

बच्चासँगै पढ्ने 

‘मेरो बच्चा पाँच वर्षको भयो। आफैँ पढ्छ,’ अभिभावकहरू गर्वसाथ भनिरहेका हुन्छन्। तर, बच्चालाई एक्लै पढ्न छाड्ने होइन, आफूसँगै बसेर अक्षरहरूको यात्रा गराउनुपर्छ। आफ्ना बच्चासँग बसेर पढ्नुस्। पढेका कुराबारे छलफल गर्नुस्। उनीहरूका कुरा सुन्नुस् र आफूलाई मन परेका पक्षबारे पनि कुरा गर्नुस्। 


रोजाइ 

बच्चालाई इच्छा लागेका सामग्री पढ्न दिनुस्। बच्चाको इच्छा बुझेर आफू पनि त्यही सामग्री पढ्नुस् र छलफल गर्नुस्। यस्तो हुँदा बच्चाको लगाव र जिज्ञासा बढेर जान्छ। उनीहरूलाई कथा वा कार्टुन जे मन पर्छ, त्यही पढ्न दिँदा हुन्छ। तर, महत्वपूर्ण कुरा सामग्री पठनीय हुनुपर्छ। 


ब्रेक 

तपाईंको बच्चाले कुनै पुस्तक पढिसकेपछि उसलाई अन्य रमाइला क्रियाकलापमा संलग्न गराउनुस्। घुम्न लैजानुस्। त्यस पुस्तकको कुन पक्ष मन पर्‍यो ? के सिकायो ? यसले के परिवर्तन ल्याउँछ ? कुन पात्र मन पर्‍यो ? यी विषय सोध्नुस्। यस्ता छलफलले उनीहरूको सोच्न सक्ने क्षमता र पुस्तक पढिसकेपछि सम्झन सक्ने क्षमता अभिवृद्धि गर्छ। 


समयसीमा निर्धारण नगर्नुस् 

बच्चालाई यति नै समयमा यो पुस्तक पढिसक्नुपर्छ भनेर दबाब दिने काम नगर्नुस्। हतारोमा पढ्दा उनीहरूले अध्ययनको मज्जा लिन पाउँदैनन्। उनीहरूलाई आनन्दले पढ्न लगाउनुस्। 


वातावरण

घरमा पढ्ने वातावरण बनाउन जरुरी छ। यसका लागि बेग्लै स्पेस छुट्याउन सकिन्छ। त्यहाँ आवश्यक पुस्तकहरू राख्नुस्।  बच्चालाई त्यस ठाउँमा पुगेपछि अध्ययन गर्न मन लागोस्।