काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउने प्रस्ताव गरेका छन्। 

आइतबार मन्त्रालयमा स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले बीमाको दायरा बढाएर कम्तीमा पाँच लाख बनाउने प्रस्ताव गरेका हुन्। हाल स्वास्थ्य बीमाको सीमा एक लाख छ। 

OM Sai Pathibhara Hospital

स्वास्थ्यका कार्यक्रम एकीकृत गरेर स्वास्थ्य बीमामा सुधार ल्याउन रकमको दायरा बढाइने मन्त्री पौडेलले बताएका छन्। आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रम एकीकृत गरेर बीमामा जोड्ने योजना रहेको मन्त्री पौडेलले सुनाए। 

‘कर कोषबाट ल्याएर बीमामा रकम थप गरेर भए पनि स्वास्थ्य बीमाको दायरा बढाउने तयारीमा हामी छौँ। यसबाहेक, चिनीजन्य सामग्रीमा कर लगाएर भए पनि बीमामा रकम बढाउनुपर्छ,’ उनले भने। मन्त्री पौडेलले स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बीमा व्यवस्थापन सूचना प्रणाली परिमार्जन गरी दीर्घकालीन योजनामा समेट्ने बताएका छन्। 

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सरकारी एवं गैरसरकारी स्वास्थ्य संस्थाहरूमा बीमा तथा गैरबीमाका बिरामीको हकमा लाग्ने उपचार तथा निदान शुल्कमा एकरूपता ल्याउन बीमा कार्यक्रम परिमार्जन आवश्यक भएको उनले बताए। 

मन्त्रालयले अगाडि सारेको दीर्घकालीन योजनाअनुरूप स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको अनावश्यक जाँच, निदान र उपचार निरुत्साहित गर्न स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानीको व्यवस्था पुनरावलोकन गरिने उल्लेख छ। यसैगरी स्रोतको सुनिश्चितता गरेर हालसम्मको बीमा र विपन्न उपचार सेवालगायतको भुक्तानीका लागि आवश्यक पर्ने स्रोत सुनिश्चित गरिने योजनामा छ।

कर कोषबाट ल्याएर बीमामा रकम थप गरेर भए पनि स्वास्थ्य बीमाको दायरा बढाउने तयारीमा हामी छौँ। चिनीजन्य सामग्रीमा कर लगाएर भए पनि बीमामा रकम बढाउनुपर्छ।

मन्त्री पौडेलले बीमा प्रिमियमबापत संकलित रकम र सरकारबाट प्राप्त अनुदान अपर्याप्त रहेकाले हाल विद्यमान स्वास्थ्य करकोषबाट रकम लिने, निश्चित मात्राभन्दा बढी चिनीजन्य पदार्थ प्रयोग हुने खाद्य तथा पेयपदार्थमा अनिवार्य सुगर कर लगाउने, विभिन्न संस्थाका उपचार कोषलाई स्वास्थ्य बीमा कोषसँग आबद्ध गर्ने र आकस्मिकबाहेक निःशुल्क उपचारका सबै कार्यक्रम बीमामा आबद्ध गरी निःशुल्क उपचार सेवा सुरु गर्ने योजना रहेको बताए।