काठमाडौं–नेपाल प्रहरीले पछिल्लो समयमा विभिन्न विदेशी आइडीहरुबाट नेपालमा रहेका सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भैरहेको जनाएको छ । यस किसिमका झुट्ठा पोष्टहरुबाट सतर्क रहन नेपाल प्रहरीले सम्पूर्णलाई अनुरोध गरेको हो । 

नेपाल प्रहरीका अनुसार, ठगहरूले विश्वसनीय देखाउन सरकारी र निजी संस्थाहरूको नाम र लोगो प्रयोग गरी रोजगारीका आकर्षक प्रस्तावहरू राख्ने गरेका छन् । आफ्नो व्यक्तिगत विवरण, पैसा, वा अन्य संवेदनशील जानकारी साझा गर्दा ठगीमा परिरहेका छन्। नेपाल प्रहरीले सर्वसाधारणलाई साइबर सुरक्षाका उपायहरू अपनाउन सुझाव दिएको छ । आफ्नो साइबर सुरक्षा बलियो बनाउन के गर्न सकिन्छ ? 

OM Sai Pathibhara Hospital

अप्रत्यासित लिङ्क तथा चिट्ठा पर्यो भनि आएका मेल/लिङ्कहरूको विश्वासमा परी क्लिक नगरौँ । विदेशबाट गिफ्ट आयो, भन्सार कटाउने भनि गिफ्ट/आईफोनको फोटो देखाए रकम माग गरेमा समेत विश्वास नगरौँ । 

आफ्नो गोप्य फोटो/भिडियो तथा व्यक्तिगत जानकारी जो कोहीसँग साझा नगरौँ ।  यो जानकारी गलत व्यक्तिको हातमा परेमा दुरुपयोग हुन सक्छ । 

आकर्षक रोजगारी पाउनका लागि उल्टा आफूले रकम लगानी गर्न लगाउने प्रलोभनका पछि नलागौँ ।  चिनजानकै व्यक्तिबाट मेसेजमा च्याट गरी रकम माग गरेमा कल गरी एकीन गरौँ, किनकि आइडी ह्याक भएको हुन सक्छ । 

समय निकालेर घर परिवारका सदस्यहरू बालबालिका र वृद्धवृद्धालाई प्रविधिको प्रयोग तथा अनलाइनमा हुन सक्ने खतराहरूको बारेमा जानकारी गराउ । 

सुरक्षित पासवर्ड प्रयोग गरौँ र समय–समयमा परिवर्तन समेत गरौँ । कमजोर पासवर्डहरू ह्याक गर्न सजिलो हुन्छ । सम्भव भएसम्म अनलाइन खाताहरूमा मल्टी–फ्याक्टर अथेन्टिकेशन प्रयोग गरौँ । यो भनेको पासवर्डसँगै ओटीपी (वन टाइम पासवर्ड) समेत हो । 

सार्वजनिक स्थानमा उपलब्ध फ्री वाइफाइमा बैंकिङ कारोबार वा संवेदनशील जानकारी आदानप्रदान नगरौँ ।  कम्प्युटर/ल्यापटपलाई समय समयमा अपडेट गरौँ र विश्वसनीय एन्टि–भाइरस प्रणालीहरू प्रयोग गरौँ ।

जरूरी विवरण तथा डाटाहरूको नियमित ब्याकअप गर्ने गरौँ । पोटेबल हार्ड डिस्क, क्लाउड लगायतका माध्यमबाट डाटाको ब्याकअप गर्नु महत्वपूर्ण छ। यसरी, साइबर सुरक्षाका यी उपायहरू अपनाएर हामी आफ्ना व्यक्तिगत तथा व्यावसायिक जानकारीहरू सुरक्षित राख्न सक्छौं ।