नारायणहिटीको नयाँ भवन बन्नुअगाडि राजा महेन्द्र बाहिरबाट हेर्दा एकतले जस्तो देखिने सानो महेन्द्रमञ्जिल बंगलामा बस्थे । राजाका नातेदारलाई लिएर कैयौँ पटक हामी त्यो बंगलामा जान्थ्यौँ र एडीसी बस्ने फलैचामा बस्थ्यौँ ।
ढोकानेर एडीसीहरू बस्थे । उनीहरू भित्र जान पाउँथेनन् । पाहुना भित्र गएपछि हामी पनि एडीसीहरू बस्ने जिनको खोल हालेको लम्पटमा बस्थ्यौँ । राजाले पाहुनालाई लिएर भित्र गइसकेपछि मात्र हामी त्यहाँ बस्न पाउँथ्यौँ ।
म अलि छुकछुके र उल्लु थिएँ । मलाई एडीसी बस्ने लम्पट साह्रै मैलो लाग्यो । हातले लम्पटमा हिर्काउँदा बुङ्ग धुलो उड्यो । मैले एडीसी कप्तानलाई राजा हिंड्ने कोरिडरको लम्पटमा यस्तरी धुलो उड्ने के गर्नु भएको ? अलि राम्रो त हुनुपर्छ भनेँ ।
एडीसीले जवाफ दिए, ‘राजा हिँडिरहेको बेलामा हजुरले जस्तो कसले हातले हिर्काउँछ र धुलो उड्छ ?’
त्रिभुवनको बेलाको पुरानो भवनमा जिजुमुवाहरू (त्रिभुवनका दुई रानी) बस्थे । पाहुना लिएर जाँदा राणाजीले बेलायतबाट ल्याएको फर्निचर राखिएको तल्लो बैठकमा हामी बस्थ्यौँ । माथिल्लो तलामा जिजुमुवाहरूको बैठक थियो । त्यो कस्तो थियो, हामी जान पाउँदैनथ्यौँ ।
तल्लो बैठकमा जर्नेल तीर्थविक्रम राणा (टुलु जर्नेल) सँगैको सोफामा गएर म बस्थेँ । तीर्थविक्रम साह्रै भलाद्मी थिए । कमै व्यक्ति त्यस्ता हुन्छन् । म बसेको सोफाको कपडा मूल्यवान भए पनि फाटेर झुत्रो भएको थियो ।
फाटेको ठाउँबाट हात घुसारी एक मुठी धुलो निकालेर जर्नेललाई देखाउँदै भनेँ, ‘हजुरले सरकारलाई बिन्ती गरेर बैठकलाई राम्रो बनाउनु पर्यो । राजाको घरको बैठक साधारण मान्छेको बैठकजस्तो पनि भएन ।’
जिजुमुवाहरू यो बैठकमा आउनुहुन्न । कसैले सुधारको लागि बिन्ती चढाएर बैठक सुधार भएमा सबै पैसा त्यसमा खर्च भयो भनी जिजुमुवाहरूले बिहे व्रतबन्धमा दिदै आएको बक्सिस् नदिने हुनाले कसैले पनि बिन्ती नगर्ने जर्नेलले बताए ।
पछि पटकपटक जाँदा तल्लो बैठक झन् झन् गएगुज्रेको थियो । दरबारमा पटकपटक जाँदा देखेसुनेको आधारमा म यतिचाहिँ भन्न सक्छु, दरबारसँग त्यति बेला अकुत सम्पत्ति थिएन ।
जेठी शाहज्यादी शान्ति शाहको बिहेताकाको कुरा हो । जिजुमुवाका बहिनीजुवाइँ राजा काशीपुरले मलाई एक दिन राजाको मुड कस्तो छ भने ?
‘किन हजुर ?’, मैले भनेँ ।
‘साथमा लिएर आएको ठेकेदारलाई अन्नपूर्ण होटलमा राखेको छु । राजालाई बिन्ती गरेर रेलवे सिल्परको लागि सालको एक हजार रूख माग्नु छ’, उनले भने ।
राजालाई पनि धेरै नातेदारका समस्या सुल्झाउनु पर्ने थियो ।
राजा त्रिभुवनका रानीद्वयका बहिनी विधवा महारानी बिरापुर र उनीहरूका जुवाइँ राजा काशीपुर नेपाल आउँदा उनीहरूलाई घुमाउन म पराष्ट्र मन्त्रालयबाट खटिएको थिएँ । उनीहरूले केही कपडाहरू इन्द्रचोकमा गएर किन्ने इच्छा जाहेर गरे ।
मैले उनीहरूलाई इन्द्रचोकको हल्खोरीरामको पसलमा कपडा किन्न लगेँ । उनीहरूले आठ हजार रूपैयाँको कपडा किनेर त्यसको भारू कति हुन्छ ? भनेर सोधे । हल्खोरीरामले भारूमा कन्भर्ट गरेर लिखित कागज दिए । उनीहरूले पैसा आज होइन, भोलि तिर्ने भनेर त्यो दिन पैसा नतिरिकन गए ।
सायद त्यो पैसा दिदीहरूसँग लिएर तिर्नको लागि नै भोलि भनेको हो कि जस्तो मलाई लाग्छ ।
त्यही रात भारु डिभ्यालुएसन भएर १ सय भारुको १ सय साठीबाट घटेर १ सय १ नेपाली रूपैयाँ भयो ।
भोलिपल्ट खडबडीको स्थिति बन्यो । पाहुनाहरूले अघिल्लो दिन हिसाब गरेको भारू रकम नै तिर्न खोजे । उनीहरूले भनेअनुसार तिर्दा धेरै रकम फरक पथ्र्यो । हल्खोरीरामको तर्क थियो, मैले त नेपाली रूपैयाँको कति भारू हुन्छ ? भन्दा यति भारू हुन्छ भनेर हिसाब मात्र गरिदिएको हुँ ।
राष्ट्र बैकको नियमानुसार भारुमा कारोबार गर्न पाइदैनथ्यो । गरेमा सजायको भागी हुनुपथ्यो । त्यसकारण मैले भारुमा कारोबार गर्ने त कुरै थिएन ।
दुईथरीको विवाद भयो । म चुपचाप दर्शक भएँ ।
त्यत्तिकैमा दरबारको अफिसरहरूले मेरो ड्युटी टेकओभर गरे । पछि यो विषय के भयो ? भनेर जिज्ञाशा भइरहेकोले हल्खोरीरामलाई सोध्दा नेपाली रूपैयाँ नै लिएको बताए ।
हल्खोरीरामको पसल ठूलोबाट सानो भए पनि उनका छोराहरूले सञ्चालन गरिरहेका छन् ।
यो प्रसङ्ग उनीहरूलाई पनि थाहा हुनुपर्छ ।
दिल्ली दूतावासमा कार्यरत हुँदा रोयल फिजिसियन डा. मृगेन्द्रराज पाण्डे र म मेहन्द्रका माइली बहिनी महारानी पुन्चलाई भेट्न जाँदा एयर कन्डिसन नभएको, पङ्खामात्र भएको दिल्लीस्थित साधारणभन्दा पनि साधारण बंगलामा बसेकी थिइन । पङ्खाले नभ्याउने गर्मी थियो ।
राणाजीको हुकुम चल्दा मोहन शम्शेरकी छोरीलाई काश्मिरी राजाका छोरा करन सिंहसँग बिहे गराइएको थियो भने राणाजीकै चाँजोपाँजोमा राजा त्रिभुवनकी माइली छोरी भने त्यहीँ काश्मिरको सानो स्टेट पुन्चको रजौटालाई दिइएको थियो ।
दरबारको आर्थिक हैसियत कस्तो थियो भने, दुई सय ५० वर्षमा दरबारले ५० वर्ष पनि प्रत्यक्ष शासन गर्न पाएको थिएन । त्रिभुवनको नर्स एरिकाले लेखेको ‘द किंग इन द क्लाउड’ पढेमा धेरै कुरा प्रष्ट हुन्छ ।
दरबारमा त्रिभुवनको बेलामा नमिलाइकन बनाइएको हल थियो । महेन्द्रका आमाहरू सिनेमा सौखिन । उनीहरू त्यहाँ सिनेमा हेर्थे । जुनसुकै सिनेमा पनि आमाहरूले हेरेपछि मात्रै बाहिर हलहरूमा रिलिज हुन्थ्यो । हामी बरोबर पाहुना लिएर जान्थ्यौँ । आदेश अनुसार हामी हल जाने बाटोमाथिको चौरमा बस्थ्यौँ । ‘चौरबाट बाटोतिर नओर्लनु, गारतले समात्छ’ भन्थे ।
चौरमा बसिरहँदा पट्याई लाग्थ्यो । त्यहाँ कुनै मेच थिएन । एक दिन मैले राजाले सुन्ने गरी शेरबहादुर मल्ल जर्नेललाई ‘हामीले पनि सिनेमा हेर्न पाए हुन्थ्यो । बिन्ती गरिदिनु पर्यो’ भने ।
सिनेमा हेर्ने अनुमति मिल्यो ।
हलमा बाल्कोनी थिएन । राजपरिवार बीचको लाइनमा बस्थे । हामीलाई सबैभन्दा अगाडिको रोमा बस्नु, हात नचलाउनु, पछाडि नहेर्नु इत्यादि भनियो । त्यहाँ सिनेमा हेर्न बस्दा झन् कान चिलाएर, गर्दन चिलाएर हैरान । त्यो शारीरिक भन्दा पनि मनोवैज्ञानिक थियो । हल प्राविधिक रूपमा राम्रोसँग बनाएको नभई हलका लागि हल मात्र थियो । पर्दाको जुन छेउमा कलाकार देखिन्थ्यो, त्यतै मुन्टो बटार्नु पर्ने । त्यसले गर्दा आँखा र घाँटी दुवैलाई सास्ती ।
सिनेमा हेर्नुभन्दा पनि कुन बेलामा के दशा लागेर सिनेमा हेर्ने प्रयास गरिएछ ? भन्ने लागिरह्यो । धेरैजसो त आँखा चिम्लियो ।
सुनील दत्त अभिनित ‘बेटाबेटी’ हेरेर रातको १२ बजे दरबारबाट फर्कदै गर्दा बाटोमा बागमती अञ्चलका सहअञ्चलाधीश लक्ष्मणविक्रम भण्डारी भेटिए । उनीहरू रञ्जना हलमा त्यही सिनेमा सेन्सर गर्न जान लागेका रहेछन् । मलाई पनि जाउँ भने ।
मैले दरबारमा सिनेमा हेर्न त हेरेको थिएँ । तर, के हेरेको मलाई नै थाहा थिएन । त्यसैले दोहो¥याएर त्यो सिनेमा हेर्न गएँ । मलाई अकस्मात लिएर गएकोले उनीहरूको लागि मात्र भनेर तयार गरिएको खाना बाँडीचुँडी खायौँ । भोलिपल्ट मेरा आँखा हेर्नै नहुने गरी सुन्निएका थिए ।
पाहुना लिएर एक रात हामी दरबार गएका थियौँ ।
दरबारको चौरमा बसिरहँदा हाम्रै नजिक एउटा नेप्टे भक्स वाइगन अडियो । राजा महेन्द्र र जर्नेल शेरबहादुर मल्ल निस्के । म चाकडी देखाउन भक्स वाइगनको नजिकै गएँ । राजा महेन्द्रले एउटा पेस्तोल र जर्नेल शेरबहादुरले अर्को पेस्तोल झिकेर गोली चेक गरे । फेरि मोटरभित्र चढेर राति १२ बजेतिर बाहिर निस्के । मेरो कुनै संवाद भएन ।
अघिल्लो रात पाहुनासहित दरबारबाट उनीहरू बालाजु स्वीमिङ पुल गएको कुरा हामीले भालिपल्ट मात्र थाहा पायौँ । राजा महेन्द्र राति राति बिनासेक्युरिटी निस्कन्छन् भन्ने सुनेका थियौँ । त्यस दिन त्यसको पुष्टि भयो ।
राजा महेन्द्र र जर्नेल शेरबहादुरको कम्बिनेशन पनि अचम्मको थियो । महेन्द्रले उनीतिर हेरेपछि शेरबहादुर केही न केही गरिहाल्थे । तर, महेन्द्रले हेर्नु बाहेक अरू कुनै इशारा गरेको मैले कहिल्यै देखिन । झ्याल लगाउने हो कि ? ढोका लगाउने हो ? कसलाई बोलाउनु पर्ने हो ? के गर्नुपर्ने हो ? महेन्द्रको एक नजर शेरबहादुरको लागि पर्याप्त थियो । कसरी त्यो सम्भव भयो ? मैले कहिल्यै बुझ्न सकिन ।
एक दिन माइला सरकार हिमालयको ताहाचलको घरमा हामीहरू पाहुना लिएर गएका थियौँ । पाहुनाहरू सबै भित्र पसेपछि मुल ढोका बन्द गरियो । भित्रबाट नाचगान गरेको, मादल बजाएको आवाज आइरहेको थियो ।
त्यसबखतको दुई पुरा कर्नेल चुत्रबहादुर र समरराज ढोकाको दुइतिरको छिद्रबाट भित्र हेरेर हामीलाई महेन्द्र सरकारले मादल बजाएर नाँचेको कुरा बताउँदै थिए । अकस्मात आफैँले ढोका खोलेर महेन्द्र बाहिर निस्के ।
दुई कुनामा बसेर भित्र चियाइरहेका उनीहरू दुवै ढोकाको खापाले हल्का हिसाबले च्यापिए ।
सिंहदरबारको बेलायती बैठकको रात्रिभोजमा पाहुनाहरू तोकिएको ठाउँमा बस्नु पथ्र्यो । एउटा मेच बढी पनि हुनु हुँदैन थियो । कम पनि हुनु हुँदैन थियो। त्यसको लागि टेबल प्लान बनाइएको हुन्थ्यो । प्रत्येक पाहुनालाई प्लान अनुसार बस्ने मेच तोकिन्थ्यो । अपवादस्वरूप कुनै मेच खाली भएमा परराष्ट्रको अफिसर जो अगाडि पथ्र्यो उसलाई लगेर राखिन्थ्यो । त्यसैले टेबल प्लानमा विशेष ध्यान दिनुपथ्र्यो ।
एक पटक टेबल प्लानमा हेर्दा सचिव कुलशेखरकी श्रीमतीको नाम भेटिएन । म ध्यानपुर्वक नाम खोज्दै थिएँ ।
मानिसहरू सतर्क अवस्थामा लाइन लागेको चाल पाएँ । पछाडि फर्केर हेर्दा राजा महेन्द्र आएर टक्क उभिएर मलाई हेरिरहेको देखेँ ।
उनलाई देख्नासाथ राजालाई पछाडि पारेर हट्न नहुने भएकोले टेबलको साइडबाट पछाडि नहेरी पछि हट्दै जाँदा दरबारका सचिव ईश्वरीमानको श्रीमतीको खुट्टामा कुल्चन पुगेर म पछाडिपट्टी लड्दा सबै भीआईपीका श्रीमतीहरूले थामेर मलाई लड्नबाट रोके ।
त्यो दृश्य देखेर राजा महेन्द्र मुसुक्क हाँसेर गए ।
मदनदेव आचार्यको पुस्तक 'खिचडी'बाट