नेपालको वायु प्रदूषणको व्यवस्थापनका लागि कार्ययोजना बनाएर त्यसमा लगानी गर्न सक्नुपर्छ । लगानी गर्न सरकारसँग जनताबाट उठाएको प्रशस्त मात्रामा पैसा छ । तर त्यो खर्च गर्न सकेको छैन् ।

बढ्दो वायु प्रदूषणका कारण नेपाल जोखिमपूर्ण अवस्थामा छ । जुनसुकै मौसममा पनि प्रदूषणको जोखिम रहने भएकाले हालको मनसुनमा पनि सचेत रहनुपर्ने देखिन्छ । विश्व बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले काठमाडौं उपत्यका र तराई वायु प्रदूषणका लागि हटस्पट भएको साथै वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाउने र  वार्षिक रूपमा लगभग २६,००० जनाको अकालमा मृत्यु हुने गरेको जनाएको छ । विश्व बैंकको प्रतिवेदन साथै मनसुनमा हुने वायुप्रदुषणको जोखिम लगायतका विषयमा चर्चित वातावरणविद् भुषण तुलाधरले  कुराकानी गरेका छन् । 

यतिबेला नेपालको वायु प्रदूषणको अवस्था कस्तो छ, मनसुनको समयमा वातावरण सम्बन्धी कस्तो जोखिम हुनेगर्छ ? 

मनसुन भएकाले वायु प्रदूषण केही कम नै भएको छ । किनभने पानीले मौसम सफा बनाउँछ । यद्यपी, केही ठाउँमा प्रदूषण कायम नै छ । नेपालमा सबैभन्दा बढी प्रदूषित ठाँउ कुन हो भनेर खोज्ने हो भने, नेपालको आधाजति घरको भान्छाहरु नै हुन् । हरेक समयमा दाउरा, गुइँठा प्रयोग गर्ने गरेका छन् । त्यसले प्रदूषण बढाइरहेको छ । मनसुनको समयमा वायु प्रदूषण घट्छ र पानीको मात्रा बढ्ने सम्भावना हुन्छ । जसले गर्दा हैंजा, झाडापखाला जस्ता रोगहरु लाग्न सक्छन् । प्राकृतिक प्रकोपका कारणपनि रोगहरु आउन सक्ने सम्भावना  हुन्छ । त्यसैले  यो मनसुनमा चाँहि पानीको प्रदूषण र विपत्तीका घटनाहरुले गर्दा जोखिम बढ्ने गर्छ । 

मौसम अनुसार वायु प्रदूषणले मानव स्वस्थ्यमा कस्तो किसिमको जोखिम देखिने गर्छ ? 

मौसम अनुसारको वायु प्रदूषणले मानिसको स्वास्थ्यमा एकदमै ठूलो जोखिम बढ्ने गरेको छ । विश्वव्यापी रुपमा नै यो मानिसको जनस्वास्थ्यको सबैभन्दा प्रमुख चुनौति भनेर भनिएको छ । विश्व स्वस्थ्य संगठनले नै मानिस मृत्युको प्रमुख कारण प्रदूषण हुने गरेको भनेको छन् ।  वातावरण प्रदूषणका कारण हावा फोहोर आउँछ र त्यो मुटु हुँदै शरीरका भागमा पुर्याउने हुनाले यो चुनौतिको रुपमा छ । नेपालमा वायु प्रदूषण प्रमुख समस्याको रुपमा आइसकेको छ । जन्मदेखि मृत्युसम्म चाहिने भनेको हावा हो त्यहि हावा नै प्रदूषित आउन थाल्यो भने मानिसको जनस्वास्थ्यमा ठूलो चुनौती बनेर आउने गर्छ । 

विश्व बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा उपत्यका र तराई नेपालको वायु प्रदूषणका लागि हटपस्ट भनिएको छ । हजुरलाई के लाग्छ ?

विश्व बैंकले निकालेको अध्ययन प्रतिवेदन सही छ । अरु अरु प्रतिवेदनले पनि त्यस्तै रिपोर्टहरु निकालेको छ । सरकारले पनि जुन किसिमले मापन गर्छ वायु प्रदूषण त्यसले पनि त्यही देखाएको छ । काठमाडौ उपत्यका, जहाँ स्रोत–साधनका मात्रा बढी भएकाले प्रदूषण बढी छ । उपत्यका भएकाले पनि त्यो प्रदूषण गुम्सिएर बसेको हुन्छ । दोस्रो भनेको तराई क्षेत्र हो । तराईमा पनि प्रदूषणको स्रोतहरु धेरै छन् । बाहिरबाट सँगै आएका सवारी साधनहरुले पनि धेरै असर गरेको छ । र अर्को भनेको खेती गर्दा जुन अवशेषहरु आँउछन् त्यसलाई जलाउने गरिएकाले पनि त्यहाँ बढी प्रदूषण हुने गरेको छ । 

विश्व बैंकले वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ बर्षले घटाँउछ र बार्षिक रुपमा लगभग २६००० जनाको अकालमा मृत्यु निम्त्याँउछ भनिएको छ । हजुर यसबारे के भन्नुहुन्छ ?

विश्व बैंकले जुन ३.४ बर्षले औसत घटाउँछ भन्ने प्रतिवेदन निकालेको छ  त्यो  सही छ । तर त्यति ढाटा तराईतिर हेर्ने हो भने पाँच बर्षले घटेको देखिन्छ । कतिपय ठाँउमा पाँच भन्दा बढी छ । त्यसैले विभिन्न प्रतिवेदनले देखाए अनुसार हामी एकदमै धेरै गम्भीर हुन आवश्यक छ । विश्व बैंकका अनुसार प्रदूषणले स्वास्थ्यमा मात्र होइन अर्थतन्त्रमा पनि गम्भीर असर पारिरहेको हुन्छ । त्यसले गर्दा नेपालको कुल ग्राहस्थ उत्पादनमा ६ प्रतिशत नाश गरिरहेको छ भन्ने देखाइ रहेको छ । विश्व बैंकले जुन अध्ययन अनुसन्धान गरेको छ त्यो राम्रो हो । त्यसलाई गम्भीरतार्पूवक लिन जरुरी छ । 

प्रदुषणले स्वास्थ्यको अतिरिक्त्त कुन–कुन क्षेत्रमा असर पारिरहेको छ ?

सबैभन्दा ठूलो कुरा भनेको मानव स्वस्थ्यमा नै असर गर्छ । यसले शिक्षादेखि बालबालिकाको मस्तिकमा समेत गम्भीर असर पर्छ । त्यसले गर्दा बालबालिकाको मस्तिष्कमा गहिरो असर परेर पढ्न नसक्ने समेत हुन्छ । पर्यटन क्षेत्रमा असर गर्ने हुँदा अर्थतन्त्र पनि घट्छ  । यसको सुरुवात मात्र स्वस्थ्य हो । 

वातावरण जोखिम न्यूनीकरण र प्रदूषण कम गर्न नेपालले के कुरामा प्राथमिकता दिनुपर्छ ? सिमेन्ट, इटाभट्टा उद्योगहरु संचालनको कुनै नयाँ प्रविधि छ ?

सबैभन्दा पहिला हामीले बुझनुपर्ने के हो भने विश्वका प्रदूषित सहरहरुमध्ये सबैभन्दा धेरै प्रदूषित सहरमा पर्छौ । त्यसलाई बुझेर त्यसको समस्याको समाधान खोज्ने हो भनेदेखि सबै मिल्दै जान्छ । जस्तै विद्युतीय गाडीको प्रयोग गर्ने, इट्टाभट्टहरुमा कोइलाको ठाँउमा वायु प्यालेटहरु प्रयोग गर्ने गरियो भने वायु प्रदूषण कम हुन सक्छ । यस्ता उद्योगहरु नेपालमा मात्र होइन विदेशी मुलुकमा पनि छन् ।  सबैतिर यसैगरि चलाउने गरेका छन् । सबैले गर्दा हामीले पनि गर्न सक्छौँ । 

केही महिनाअघि मात्र काठमाडौं प्रदूषित सहरमध्ये एक नम्बरमा परेको थियो  । अब सरकारले वातावरण प्रदूषण न्यूनिकरण गर्न के कस्तो  कदम चाल्नुपर्ला ?

सरकारले यो विषयलाई विशेष प्राथमिकतामा राख्न जरुरी छ । प्राथमिकतामा राख्ने वित्तिकै समाधान खोज्न थालिन्छ । अनि बल्ल काम गर्न सुरु हुने भएकाले सबैभन्दा पहिला यसलाई प्राथमिकतामा राख्न आवश्यक छ  । त्यसका लागि योजनाबद्ध तवरले योजना बनाएर अघि बढ्नपर्छ । नेपालको वायु प्रदूषणको व्यवस्थापनका लागि कार्ययोजना बनाएर त्यसमा लगानी गर्न सक्नुपर्छ । लगानी गर्न सरकारसँग जनताबाट उठाएको प्रशस्त मात्रामा पैसा छ । तर त्यो खर्च गर्न सकेको छैन । बर्षमा तीनचार अर्ब पैसा उठ्छ । त्यहाँबाट पनि व्यवस्थापन गर्न सकिन्छ । यस्ता प्रदूषण घटाउने उपायहरु थुप्रै छन् । जस्तै विद्युतीय सवारी साधानहरु ल्याउने, घर भित्रको धँुवा धुलो हटाउने विशेष उपाय हुन् । त्यसका लागि सरकारले र जनता दुृवैले महत्वपूर्ण भुमिका खेल्न आवश्यक छ । 

प्रदूषण नियन्त्रणमा हाल सरकारले गरिरहेको कामप्रति तपाईको भनाइ के छ ?

सरकारले काम नगरेको होइन गरेको छ । तर प्रर्याप्त मात्रामा गरेको छैन् । जुन गम्भीरताका साथ यसलाई हेरिनुपर्ने हो त्यसरी हेरिएको छैन । गरेको काम भनेको विद्युतीय सवारी साधनमा कर कम गरेको छ  । तर त्यतिले मात्र नपुग्ने भएकाले सार्वजनिक यातायातमा विद्युतीकरण गर्न सक्यो भने सहज हुन्छ । तर यो गर्न चुनैतिको विषय छ । डिजेलको भन्दा विद्युतीय बसहरु महंगो छ । त्यसैले सरकारले केही गरेको छैन । सरकारले यसलाई गम्भीरतापूर्वक लिएर अघि बढ्न आवश्यका छ ।  

काठमाडौं उपत्यकाकै अवस्था हेर्दा महानगरपालिकाले  सडकमा भएका फोहोर उठाउनुका साथै सडकका पेटीहरुमा समेत रगंरोगन गरि बिरुवाहरु रोपेको छ । त्यस्ता कामले वातावरण प्रदुषण न्यूनिकरण कतिको सहजीकरण गरेको छ ?

पक्कैपनि सहर राम्रो देखिएको छ । ठाँउ ठाँउमा वृक्षारोपण गरिएको छ । काठमाडौंले मात्र होइन ललितपुरले पनि गरेकै छ । यो धेरै राम्रो हो । तर अलिकति कहाँनिर चुक्यो भने त्यो फोहोर संकलन गरिसकेपछि के गर्ने भन्ने निष्कर्ष निकालेको छैन् । अहिले त्यो लगेर सिस्टोलमा फालिरहेको छ । र सिस्टोलमा त्यो धेरै चाँडो भरिने वाला छ । त्यसलाई पुनः प्रयोग गर्न सक्नुपर्ने हो भएको छैन् । बेलाबेलामा कवाडीहरुलाई लखेटिने गरेको छ, कहिले कहिले कवाड कर लिने गर्छ । कवाड कर लिने भनेको पुर्ण प्रयोग गर्न नसकिने कुरामा हो । पुर्ण प्रयोग गर्न मिल्ने वस्तुमा समेत कर लिएको छ ।  अहिले गरेको काम ठिक छ पछि गर्ने कामहरु सोचेर गर्न आवश्यक छ ।