काठमाडौं— बजारमा निरन्तर सुनको मूल्य बढ्न थालेपछि नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना बेच्ने ग्राहक बढी आउन थालेका छन्। 

महासङ्घका महासचिव डम्बरसुन्दर वज्राचार्यले सुनको मूल्य बढ्दै गएपछि कारोबार दैनिक पाँच केजीमा सीमित भएको बताए । 

OM Sai Pathibhara Hospital

वज्राचार्यले भने, 'कोभिडका कारण शिथिल बनेको अर्थतन्त्रमा उपभोक्ताको क्रयशक्ति बढ्न सकेको छैन, लगातार मूल्य बढ्दा उपभोक्ता र व्यवसायी दुवैलाई असर परेको छ।' 

बजारमा सुनको माग नहुँदा बैङ्कसँग १७० केजीभन्दा बढी सुन मौज्दात रहेको उनको भनाइ छ। 

वाणिज्य बैङ्कहरूले सुन ल्याएर व्यवसायीलाई बेच्ने गरेका छन्। नेपाल राष्ट्र बैङ्कले दैनिक २० केजीका दरले सुनको आयात गर्ने कोटा निर्धारण गरेको छ। बजारमा सुनको माग न्यून हुँदा बैङ्क र व्यवसायीसँग पनि सुनको मौज्दात छ। 

साउन महिना लगनको सिजन नभएको र निरन्तर मूल्य बढिरहेकाले पनि सुनको कारोबार न्यून छ। न्युरोडका अधिकांश सुनचाँदी पसलमा यतिबेला ग्राहकको चहलपहल खासै देखिँदैन। 

उपभोक्ताको क्रयशक्ति न्यून हुँदा उपभोक्ताले घरखर्च चलाउन पुराना गहना बेच्न ल्याउने गरेको व्यवसायीको भनाइ छ।