काठमाडौं— सुनको मूल्य तोलाको डेढ लाख रुपियाँ पुगेको छ। केही समयदेखि घटबढ हुँदै आएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रुपियाँ पुगेको हो। 

यो नेपाली सुन बजारको हालसम्मकै उच्च मूल्य हो। मङ्गलबारको मूल्य प्रतितोला एक लाख ४७ हजार आठ सय रुपियाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव नेपाली बजारमा पर्न गएको हो। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुई हजार ४७१ डलर पुगेको छ। 

OM Sai Pathibhara Hospital

अमेरिकको फ्रेडरल रिजर्भ बैङ्कले ०.५ प्रतिशत ब्याजदर घटाउने हल्लासँगै बजारमा सुनको मूल्य ह्वात्तै बढेको व्यवसायीको भनाइ छ। ब्याजदर घट्दा लगानी सुनतिर आकर्षित हुन्छ, जसले माग बढाउँछ। वस्तु बजारमा सीमित आपूर्तिका बाबजुद माग बढ्दा सुनको मूल्य बढ्ने गर्छ। अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा सुनको मूल्य समायोजन हुन्छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष एवं सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जुनसुकै बेला फेडरल रिजर्भ बैङ्कले ब्याजदर घटाउन सक्छ भन्ने अनुमानका आधारमा लगानीकर्ताले सुनमा लगानी बढाएका हुन्। सुनको लगानी सुरक्षित मानिने भएकाले सुनको मूल्य निरन्तरण बढ्दै गएको उनले बताए । 

इजरायल युद्ध, एसियाली बजारमा सुनको माग बढी भएकाले पनि मूल्य बढ्न गएको उहाँको भनाइ छ। आगामी दिनमा सुनको मूल्य अझ बढ्ने सङ्केत देखिएको उनको अनुमान छ। व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर प्रतिऔँस दुई हजार सात सय डलर पुग्ने अनुमान गरिएको छ। त्यतिबेला नेपाली बजारमा सुनको मूल्य एक लाख ६५ हजार पुग्न सक्ने शाक्यले बताए ।

चालु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएकाले पनि सुनको मूल्य तोलामा छ हजार रुपियाँ बढी पर्न गएको छ। सुनको मूल्य लगातार बढ्दै गएपछि उपभोक्तालाई प्रत्यक्ष असर परेको छ। 

सैबिच बजारमा चाँदीको मूल्यसमेत बढेको छ। मङ्गलबार प्रतितोला एक हजार ८७५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा २० रुपियाँ बढेर एक हजार ८९५ रुपियाँमा कारोबार भएको छ।