काठमाडौँ । पूर्व सचिव भीम उपाध्यायले राजनीतिक दलका नेताहरूको गैरजिम्मेवारीपनप्रति प्रश्न उठाएका छन् । उनले नेतालाई सजाय कसले दिने भनेर प्रश्न पनि गरे ।

मेलम्ची खानेपानी भ्रष्टाचारमा मुछिएपछि उनले प्रधानमन्त्री र मन्त्रीहरूप्रति आक्रोश पोख्दै नेतालाई कसले सजाय दिने भन्दै प्रश्न गरेका हुन् । आफू खानेपानी मन्त्रालयको सचिव हुँदा तत्कालीन प्रधानमन्त्री, मन्त्रीलगायत विभिन्न पदमा रहेका अधिकारीहरूकै सल्लाहमा मेलम्ची खानेपानी आयोजनामा काम गरेको र सल्लाहबमोजिम गरिएको कामकै कारण अहिले भ्रष्टाचारको आरोप लागेको उपाध्यायले बताए ।

OM Sai Pathibhara Hospital

उपाध्यायले फेसबुकमा लेखेका छन् :


म मेरा खानेपानी मन्त्रालयका तत्कालीन मन्त्रीहरू प्रम प्रचण्ड, प्रम शेरबहादुर देउवा, राज्यमन्त्री दीपक खड्का, प्रेमबहादुर सिंह, जीवन शाही, महेन्द्र यादव, योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, संसद्को विकास समितिका सदस्यहरू, सार्वजनिक लेखा समितिका सदस्यहरू, तत्कालीन अख्तियारका प्रमुख र आयुक्तहरू, अर्थ मन्त्री लगायतलाई स्मरण गराउन चाहन्छु,’ सामाजिक सञ्जालमा उपाध्यायले लेखेका छन्, ‘तपाईँहरूसँग मेलम्ची टनेल प्रोजेक्ट धराशायी हुँदै छ, दुर्घटनामा जान सक्छ, बैङ्क ग्यारेन्टी लिएर ठेकेदारको क्यास फ्लो सुचारु गर्न सकिएन भने भनेर जानकारी दिँदै अब के गरौँ भनेर सल्लाह मागेको थिएँ । तपाईँहरूले सचिव ज्यू तपाईँले जसरी पनि मेलम्ची सफल पार्नुस् जे गरेर हुन्छ भन्नु भएको थियो कि थिएन ?’

ठेकेदारसँग बैङ्क ग्यारेन्टी लिएर ३ लाख डलर पेस्की दिएपछि प्रोजेक्ट सुचारु भएको उनले बताए । विगत ८ वर्षमा ५०% मात्र टनेल खन्ने प्रगतिको अवस्थाबाट आफूले रातदिन काम गरेर १० महिनामा ९०% प्रगति भएको उनले जानकारी गराएका छन् । ‘ठेकेदारलाई  ३ लाख डलर दिएपछि उसको क्यास फ्लो सहज बनाएपछि यसबापतको काम मेरै सचिवको कार्यकालमा सम्पन्न भएको हो कि हैन ?’ उनको प्रश्न छ, ‘अनि अहिले तपाईँहरू चैँ किन चुप ? मेरोविरूद्धको आरोप पत्र पढेर किन बोल्न सक्नुहुन्न ? मैले न्याय त पाउँछु नै तर तपाईँहरू जस्ता गैर जिम्मेवार नेतालाई कसले सजाय दिने ? सच्चा मनले गरिएको यस्ता अन्तर्राष्ट्रिय निकै जटिल वैदेशिक लगानीको ठेक्काको देशभक्तिपूर्ण काममा पनि सामान्य नियम पुगेन भन्दै बदनियत राखेर करोडौँ हानी गरेर भ्रष्टाचार गरेको सम्मको अविवेकी आरोप लगाउँछन् भने यो सबै कामको जिम्मा त तपाईँहरूले लिनुपर्ने हो नि,  हैन ? अनि तपाईँहरूलाई हामीले संरक्षक, अभिभावक, देशको नेता कसरी किन मान्ने ?’