सडकमा राता गाडीको आतंक !
अनहकमा ज्यान गुमाउँदै नागरिक
छैन जिम्मेवार निकायको नियमन
हत्केलामा ज्यानको बाजी राखेर हिँड्नुपर्छ राजमार्गमा
मानिसलाई सुरक्षित यात्रा गराउन कि मार्न कै लागि गुडिरहेका छन् राता गाडी ?
नमस्कार ।। गुप्तपर विशेषको यो अर्को श्रृंखलामा हार्दिक स्वागत छ ।
आजको यो अंकमा हामी पूर्वपश्चिम राजमार्ग अन्तर्गत इटहरी—काँकरभिट्टा सडक खण्डमा गुड्ने राता गाडीको आतंक र भए गरेको क्षतिको विवरण प्रस्तुत गर्छौँ ।
तपाईं पूर्वी तराईको बासिन्दा हो ? अथवा कुनै बेला महेन्द्र राजमार्ग भएर पूर्वी तराईंको यात्रा गर्नुभएको छ ? एक पटक तपाईं काँकरभिट्टा, चारआली, विर्तामोड, सुरुङ्गा, दमक, उर्लाबारी, पथरी, इटहरी हुँदै धरानसम्मको यात्रा गर्नुभएको छ भने तपाईंले महसुस गरेको विषयमा नै आज हामी चर्चा गर्दैछौँ ।
यो सडकमा गुड्ने रातो र हरियो गाडीको पहिचान बनाएर तीव्र गतिमा गुड्ने सवारी साधनमा डल्फीन यातायात, सूर्योदय यातायात ,दीप यातायात, गरम काली यातायात, सयपत्री यातायात, मौसम यातायात, तुफान यातायात, विनायक यातायात, पाथिभरा यातायात, साइनो यातायात, सगरमाथा यातयात, नागरिक यातायातलगायतका छन् ।
यी सवारी साधन सार्वजनिक यातायातका साधनसँगै सडकमा त्रास सिर्जना गर्ने सवारीका रुपमा पनि का रुपमा बढी चर्चामा आउने गरेका छन् । यी गाडीलाई देख्ने वित्तिकै सडक किनाराका नागरिकले जिब्रो टोक्छन् । अनि भन्छन् धन्न म किनारमा आइपुगेँछु । नत्र त्यो रातो गाडीले मलाई अर्कै लोक पुर्याउने थियो ।
यात्रुको दुर्दशामात्र होइन् । यो सडकमा साइकल, मोटरसाइकल, अटो वा अन्य साना सवारी सञ्चालन गर्ने चालकको डर र त्रास पनि उस्तै छ । उनीहरू भन्छन् आज त रोडको साइटबाट तल झरेकाले बालबाल बाँचियो । भोलि के हुने पत्तो छैन । यी साना सवारीका चालकले बस तथा ठूला सवारी साधनले सडकमा मनमैजी गर्ने गरेको गुनासो गरेका छन् ।
सडकमा ट्राफिक नियम पालना नगर्दा धेरैले अनाहकमा ज्यान गुमाउनु परेको छ । दशैंदेखि छठसम्म अर्थात असोज १७ गते बिहीबार घटिस्थापनाको दिनदेखि कार्तिक २२ गते छठपर्वको दिनसम्म ३६ दिनमा ६५१ दुर्घटना भएका छन् । यी दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ भने ९३ जना गम्भीर घाइते र एक हजार ६७ जना सामान्य घाइते भएका छन् ।
तथ्यांकमात्र हेर्ने हाम्रा लागि यो फगत समाचार मात्र हो । तर चार्ड पर्वका बेलामा सवारी दुर्घटनाकै बज्रपात सहने परिवारका लागि कस्तो परिस्थिति गुज्रियो होला ? दु:खको अनुमान गर्दामात्र आङ सिरिङ्ग हुन्छ भने भोग्नेको दैनिकी अहिले पनि कसरी बितिरहेको छ आफैँ आँकलन गर्नुहोस् ।
जनतालाई सेवा दिन गुड्ने यी सवारी किन यात्रु/पैदलयात्रु तथा दुई पांग्रे सवारीका चालकको ज्यान लिने गरी सडकमा परिचालन भएका ? यही प्रश्न चालकलाई गर्दा उनीहरूले पैदल यात्रीले राजमार्गमा हिँड्न नै नजानेको र साना सवारीले पनि ट्राफिक नियम अनुसार सञ्चालन नहुँदा दुर्घटना हुने गरेको बताएका छन् ।
हुन त पीडा परेपछिमात्र पश्चताप गर्ने नेपाली परम्परा छ । हामीले पनि राजमार्गलाई घरको आँगन जसरी प्रयोग गरिरहेका हुन्छौँ । जेब्राक्रसबाट बाटो नकाट्ने, हतारमा सवारीको गति नहेरी जतापायो त्यतैबाट बाटो काट्ने, सवारी चालकले पनि लाइटको कुनै इशारा नदिइ र नहेरी बाटो काट्ने, आकाशेपुल रमित हेर्नका लागि मात्र प्रयोग गर्ने समस्या त हाम्रो पनि छ । यसलाई नसुधारेसम्म दुर्घटनाको क्रम कम हुँदैन् ।
तर सडक सुरक्षाका लागि खटिने र सडक दुर्घटना कम गर्न परिचालिन ट्राफिक प्रहरीले सचेतता जगाउने काम भइरहेको र केही हदसम्म दुर्घटना न्यूनीकरण हुँदै गएको बताएका छन् ।
यसरी औपचारिक कुरा सुन्दा त सबैले आफ्नो काम जिम्मेवारीका साथ गरिरहेको र कुनै समस्या नरहेको देखिन्छ । तर दिन दिनै भएका दुर्घटनाले हामीलाई क्षतविछ्यत बनाएको मात्र छैन । दैनिक धेरै जनधनको क्षति पनि व्यहोरिरहनुपरिरहेको अवस्था छ । सडकको संरचना, सवारी चालकको लापरबाही, यात्रु तथा पैदलयात्रुको अबुझ पनाले हुने दुर्घटना नियन्त्रण गर्न हामी सबैले सचेतता फैलाउन जरुरी छ । सडक दुर्घटना कम गर्न स्थानीय, प्रदेश तथा संघीय सरकार, सुरक्षा निकाय, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुर सबैले जिम्मेवारीका साथ काम गर्न पर्छ।
तीव्र गति जीवन क्षति भन्ने भावलाई बुझेर सवारी चालकले सवारी सञ्चालन गर्नुपर्छ भने राजमार्गमा यात्रा गर्ने जो कोहीले ट्राफिक नियमको पालना गर्नुपर्छ । क्षति भएपछि पछुताउनुको साटो अहिले नै सचेत बने अनाहकमा ज्यान गुम्ने क्रम केही रोकिने थियो कि !