काठमाडौं  ।  मुलुकलाई टेलिभिजनको दुनियाँमा प्रवेश गराउने नेपाल टेलिभिजन स्थापनाको ३९ बर्ष पूरा भएको छ । पाँचवटा च्यालनमार्फत प्रसारण भइरहेको नेपाल टेलिभिजन, डिजिटल प्लेटफर्मको प्रयोग गरी भूगोल र कार्यक्षेत्रका आधारमा अझ फराकिलो बन्दै गएको छ ।

विश्वमा टेलिभिजन प्रसारण प्रारम्भ भएको करिब पाँच दशकपछि नेपालमा पहिलो पटक नेपाल टेलिभिजनको स्थापना भयो । २०४१ साल माघ १७ गते परियोजनाका रुपमा स्थापित नेपाल टेलिभिजनले २०४२ साल साउन २९ गते पहिलोपटक परीक्षण प्रसारण सुरु गरेको हो ।

OM Sai Pathibhara Hospital

२०४२ साल पुष १४ गतेदेखि दैनिक दुइ घण्टाबाट प्रसारण प्रारम्भ गरेको नेपाल टेलिभिजनका पाँचवटा च्यानलहरु नेपाल टेलिभिजन, एनटिभी प्लस, एनटिभी न्यूज, एनटिभी इटहरी र एनटिभी कोहलपुर हाल २४ सै घण्टा प्रसारण हुने गरेको छ ।

नेपाल टेलिभिजनअन्तर्गतका अन्य च्यानलहरु
एनटीभीः २०४१ माघ १७ गते
एनटीभी प्लसः २०६२ असोज १ गते,
एनटीभी न्यूजः २०७१ कार्तिक १ गते,
एनटीभी कोहलपुरः २०७४ बैशाख १ गते
एनटीभी इटहरी च्यानलः २०७६ माघ १७ गते

प्रसारण प्रारम्भको दिनमा १० मिनेटको समाचार प्रसारण गरेको नेपाल टेलिभिजनले हाल समाचार च्यानलबाट दैनिक १६ वटा लाईभ र छ वटा रेकर्डेड गरी २१ वटा समाचार बुलेटिन प्रसारण गरिरहेको छ ।

पाँचवटा च्यानलमार्फत् नेपाल टेलिभिजनले दर्शकको चाहना र भूगोल अनुसारका विषयवस्तुलाई प्राथमिकता दिएर प्रसारण गर्ने गरेको छ ।

राज्यको आधिकारिक र जिम्मेवार प्रसारण संस्था नेपाल टेलिभिजनले राज्यप्रतिको दायित्व र नागरिकप्रतिको जिम्मेवारीलाई निर्वाह गर्दै दर्शकको चाहना र मुलुकको आवश्यकता अनुसार प्रविधिको रुपान्तरण र कार्यक्रमहरुमा समयानुकुल परिमार्जन गर्दै आएको छ ।

नेपाल टेलिभिजनका केन्द्रमा चार वटा र प्रदेशमा दुई वटा सुविधा सम्पन्न स्टूडियो सहितका उत्पादन र प्रशासनिक भवनहरु रहेका छन् । पछिल्ला प्रविधिको प्रयोग र आफ्ना श्रोत साधनको अधिकतम उपयोगका साथै नेपाल टेलिभिजनले संस्थानको व्यवसायिक वृत्ति र दर्शकको रुची अनुसारका कार्यक्रमहरुको उत्पादनमा जोड दिएको छ ।

नेपाल टेलिभिजनले सबै जाती, भाषा, धर्म, क्षेत्र, वर्ग र समुदायको भावना समेट्ने गरी राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य, खेलकूद, मनोरञ्जन लगायतका विषयवस्तुलाई प्राथमिकता दिने गरेको छ ।

विश्वमा सूचना प्रविधिको विकासले फड्को मारेसँगै नेपाल टेलिभिजनले पनि प्रयोगमा आएका नयाँ प्रविधिलाई आत्मसात गरेको छ । नेपाल टेलिभिजनका पाँचवटै च्यानल एचडी प्रविधिमा प्रसारण भइरहेका छन् ।

नेपाल टेलिभिजनको न्यूजपोर्टल नेपालटिभी अनलाईन डटकम (nepaltvonline.com) समेत संचालनमा छ । डिजिटल प्लेटफार्मलाई व्यवस्थित र प्रभावकारी बनाउने कार्य भैरहेको छ । डिजिटल प्लेटफार्मबाटै एनटिभी वर्ल्डको समेत प्रारम्भको तयारी गरिएको छ ।

भू-सतही प्रसारण प्रणालीअन्तर्गत नेपाल टेलिभिजनले हाल १९ वटा प्रसारण केन्द्रमार्फत् देशभरको ५० प्रतिशत भूगोल र ७२ प्रतिशत जनसंख्यामा सेवा पुर्‍याईरहेको छ । थप केही प्रसारण केन्द्रहरु संचालनको तयारीमा पनि छन् ।

भू-सतही प्रणालीबाट प्रसारण सुरु गरेको नेपाल टेलिभिजनले २०५८ सालदेखि भूउपग्रहमार्फत आफ्नो प्रसारण गरिरहेको छ । भूउपग्रहमार्फत विश्वका १ सय ४० देशमा र मोवाइल एप तथा डिजिटल माध्यमबाट समेत विश्वभरि नै नेपाल टेलिभिजनलाई हेर्न सकिन्छ ।