काठमाडौँ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्नुभएका शहीदप्रति सम्मान गर्दै आज देशभर रास्ट्रीय पर्वका रुपमा शहीद दिवस मनाइँदै छ।
प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ। नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै यो दिवस मनाइँदै आइएको छ।

शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ। प्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
आज देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो। नेपालमा माध १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ। राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ ।
जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन बलिदान गर्ने महान् शहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज देशभर सहिद दिवस मनाइँदै छ।आजको दिन नेपाली जनतामा सार्वभौम अधिकार निहीत गराउन जहाँनिया राणाशासनका विरुद्धमा दरो रूपमा आवाज उराल्ने चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानको स्मरण गरिन्छ।
विसं १९९७ माघ १० गते निरङ्कुश राणाशासन विरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो। त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभाभगवतीमा गोली हानी राणाहरूले हत्या गरेका थिए।
उनीहरूले हाँसीहाँसी देश र जनताका लागि देखाएको त्याग राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ। पछिल्लो कालखण्डमा निरङ्कुश पञ्चायती व्यवस्था तथा राजतन्त्रका विरुद्धका अहिंसात्मक तथा शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झना तथा सम्मान यसै दिवसमा गरिन्छ।






































