काठमाण्डौ  ।  नेपाली लोक संस्कृतिसँग जोडिएको छ मादलको महत्त्व। अझ गीत सङ्गीत पारखीका लागि मादल निकै प्रियकर हुन्छ।मादलबिना हरेक लोकगीत सङ्गीत अपुरो हुन्छन्। नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ। तिहार पर्व होस् या अन्य मेला महोत्सव गाउँ सहर जताततै मादल घन्किन्छन्। जब मादलको ताल बज्छ,तब हरेक मानिसको मनमा उमङ्ग भरिन्छ। पछिल्लो समय मादलको प्रयोग घट्दै गएकामा सङ्गीतका पारखी मात्र होइन, मादल बनाउने व्यवसायीहरु पनि चिन्तितमा छन्।

यति बेला गाउँ सहर जताततै तिहारको रौनक छ। पहिला पहिला देउसी भैलो खेल्नेले बजाएको मादलको धुन परपरसम्म सुनिने गर्दथ्यो तर आजभोलि मादल कम बज्ने गरेका छन्। तिहारमा देउसी भैलो खेल्ने टोलीहरूले एक महिना अगाडि नै मादल किनिसकेका हुन्थे। दैउसीभैलो खेल्ने सांस्कृतिक टोलीहरूले जोर मादल किन्ने गर्दथे। तर यस वर्ष भने तिहार भित्रिसके पनि मादल विक्री नहुँदा बागलुङका मादल व्यवसायीहरु चिन्तित बनेका छन्। नेपालको सांस्कृतिक बाजामध्येको मादल विशेष गरी तिहार र विभिन्न चाडपर्वको बेला बजाएर रमाइलो गर्ने नेपालीजनको पहिचान नै हो।

OM Sai Pathibhara Hospital

विगतका वर्षहरूमा यो याममा सयौँ मादल बच्ने व्यवसायी यति बेला घाम तारेर ग्राहक कुरेर बसिरहेका छन्। तिहारका बेला नाच्दै गाउँदै सांस्कृतिक कार्यक्रम गर्ने समूहले मादल किन्ने गरे पनि पश्चिमा संस्कृति र आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादल व्यवसाय सङ्कटमा पर्न थालेको हो। पछिल्लो समय देउसी भैलो होस् या कुनै कार्यक्रम नयाँ युवा पुस्ताहरू मोबाइल, डेक र ठुला-ठुला स्पिकरमै रमाउँछन्। उहिलेका मादलको तालमा नाचिने नाचहरू पनि लोप भइसकेका छन् । आधुनिक, पप र रिमिक्सका नाममा युवा पुस्तामाझ मादलप्रतिको आकर्षण कम हुँदै गएको छ।

एक दशक अगाडिको तिहारको समयमा एउटै पसलबाट पाँच सयको हाराहारीमा मादल बिक्री हुने गर्थे तर यस वर्षको तिहारमा १० वटासम्म पनि बिक्री नभएको यहाँका व्यवसायीहरूको गुनासो छ। विभिन्न ठाउँहरूमा वर्षौँदेखि मादल व्यवसाय गर्ने व्यापारीहरू हिजोआज निकै चिन्तित बनेका छन् । पहिले-पहिले दसैँ तिहारका समयमा गाउँ र सहरबाट मादलको माग निकै हुने गरे पनि अहिले तीन वर्ष अगाडि बनाएका मादल विक्री भएका छैनन। आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गएपछि मादलको व्यापार घट्नको साथै परम्परागत बाजा लोप हुन थालेको छ।

विदेशी कला, संस्कृति र बाजाहरूलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरूको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको छ। विभिन्न जातजातिका आफ्नै कला, संस्कृति छन्। हरेक चाडबाडका बेला उनीहरूले आफ्नो रीतिरिवाज अनुसारका गीत गाउने, बजाउने र रमाइलो गर्ने प्रचलन छ। युवा पुस्ता पलायन र बुढापाकाले प्रयोग गर्न नसक्ने हुँदा मादलको प्रयोग घट्नुका साथै मौलिक संस्कृति पनि लोप हुने अवस्थामा पुगेका छन्।  सरकारले मौलिक संस्कृतिसँगै बाजाहरूको संरक्षण गर्न नसक्दा व्यवसाय नै सङ्कटमा परेको छ। मादल व्यवसायको संरक्षण गर्न सरकारले गाउँ-गाउँ विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम समावेश गर्नु पर्ने हुन्छ। हरेक जिल्लाका पालिकाहरुले कला संस्कृति संरक्षणका लागि पश्चिमा संस्कृतिलाई निरुत्साहन गरे मादल व्यवसाय फस्टाउने र स्थानीय संस्कृतिको जगेर्ना हुने थियो।

पछिल्लो समय सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको धेरैको बुझाइ छ। नेपाली मौलिकता र परम्परासँग जोडिएको बाजा मादल व्यवसाय आधुनिकतासँगै सङ्कटमा परेपछि व्यवसायीहरू पनि पलायन हुने अवस्था आएको छ। अचेल देउसी भैलो खेल्नेले इलेकट्रोनिक्स साउण्ड सिस्टम किन्ने गर्छन्। साउण्ड सिस्टमलाई न्यूनतम पनि पाँच हजार पर्छ। तर मादल दुई हजार पाँच सय रूपैयाँमै पाइन्छ। मादल सस्तो हुँदा हुँदै पनि देउसी भैलो खेल्नेहरूले स्पिकर र माइक्रोफोन किन्ने गरेका छन्। 

तिहारमा पुराना मौलिक गीत गाउने, मादल, झ्याली, बजाएर देउसी भैलो खेल्ने गरे पनि अचेल त्यो सबै हराउँदै गएको छ।  तिहारका बेला सोरठी, मारुनीलगायतका नाचहरू देखाउने गरे पनि अहिलेका युवा पुस्ताले चासो नदिँदा त्यस्ता नाँचहरु हराउँदै गएको छ। सोरठी र मारुनी नाच गीत र मादलकै तालमा नाचिने नया पुस्ताले नाच्न, गाउन र बजाउन नसक्ने भएपछि त्यस्ता मौलिक संस्कृति लोप हुँदै गएको छ। स्थानीय सरकारले पुराना कला संस्कृतिलाई संरक्षण गर्न चाहे बुढापाका  सिकाउन थिए।

पछिल्लो समय मादल विक्री हुन छोडेपछि ‘इलेक्ट्रोनिक्स साउण्ड सिस्टम’को माग बढी रहेको व्यापारीहरू बताउँछन् । ठुला-ठुला मेला महोत्सवका लागि मात्र विक्री हुने स्पिकर हिजोआज तिहारमा भैलो खेल्नका लागि किनिन्छन्। पहिले यस क्षेत्रमा रहेका यानीमाया, सुनियाया, झ्याउरेलगायत मादलको तालमा गाइने गीतहरू लोप भएको छ। युवा पुस्तालाई मौलिक संस्कृति संरक्षणमा अग्रसर गराउनका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्नु आबस्यक छ।