वीरगञ्ज । २०७२ साल जेष्ठ २५ गते ठेक्का सम्झौता भइ साढे ७ वर्षमा निर्माण भएको पर्साको विन्दवासिनीमा रहेको तिलाबे पुल १० महिना नपुग्दै भत्किन थालेको छ ।  

नयाँ पुल सञ्चालनमा आएपछि राहत महसुस गर्दै खुशी भएका त्यस क्षेत्रका जनता सञ्चालनमा आएको १० महिना नबित्दै पुल भत्किन थालेपछि फेरि सडकजामको समस्या भोग्नुपर्ने होकी भनेर चिन्तित भएका छन् ।

OM Sai Pathibhara Hospital

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर सञ्जयकुमार ठाकुरले पुलको ‘एप्रोच सडक’ भाँसिएको र सडक भत्किएर खाल्डो पर्दा दुर्घटनाको जोखिम बढेको बताए ।  

‘हामीले भत्किएको एप्रोच सडक मर्मत गर्न आज पत्राचार गरेका छौं । आजै स्थलगत निरीक्षण गरी पुल निर्माणको ठेक्का लिएको पप्पु–लुम्बिनी जे.भी.लाई तीनदिन भित्रमा भासिएको सडक पुरी सञ्चालनमा ल्याउन भनेका छौं’ हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर ठाकुरले बताएका छन । 

तत्काल रिबन बाँधी भत्किएको क्षेत्रलाई घेर्न र भत्किएको एप्रोच सडक बनाउन तथा पुलको बीचमा जमेको पानीको निकासको व्यवस्था मिलाउन फोनमार्फत पप्पु–लुम्बिनी जे.भी.का सम्पर्क व्यक्ति विष्णुप्रसाद शर्मालाई भनिसकिएको बताउनुभयो । उहाँले सोही व्यहोराको पत्र लेखेर समेत पठाइएको जानकारी दिएका छन ।

पुलको पश्चिमतर्फ करिब ४०–५० मिटर सडक कालोपत्रे गर्न बाँकी रहेकाले सो पनि सम्पन्न गर्न र धेरै अग्लो भएका कारणले माटो भासिई भत्किएको एप्रोच सडक यथाशिघ्र मर्मत गर्न हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले ठेकेदारलाई आग्रह गरेको छ । 

निर्माण सम्पन्न भएको पाँच वर्षसम्म निर्माणकर्ता ठेकेदारले नै मर्मत गर्नुपर्ने त्यसपछि मात्र मुल रकमको ५ प्रतिशत राखिएको धरौटी फिर्ता हुने व्यवस्था रहेको समेत हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सुचना अधिकारी इन्जिनियर ठाकुरले बताएका छन ।

पप्पु–लुम्बिनी जे.भी.ले २०७२ जेष्ठ २५ गते भ्याट सहित ८ करोड ७० लाख ७६ हजार ३ सय ३७ रुपियाँ २७ पैसामा ठेक्का सकार गरे पनि बीचमा चार पटक म्याद थप गर्दै २०७९ मंसिर २९ गते निर्माण सम्पन्न गरेको इन्जिनियर ठाकुरले जानकारी दिए । 

यसअघि करिब २ महिनाअघि पनि सो पुलको एप्रोच सडकको मुख्य सडक छेउमा र पुलको पश्चिमतर्फ केही स्थानमा सडक नै भासिएकोमा पत्राचार गरी मर्मत गर्न लगाएको अनुभव हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर ठाकुरले सुनाए ।         

पुरानो पुलमा सधै ट्राफिक जाम हुने भएपछि केन्द्रीय बजेटमार्फत सरकारले नयाँ पुल बनाएको थियो भने दुई वटै पुलबाट आवागमन सुरुभएपछि घण्टौ लाग्ने जामबाट ग्रामीण भेगका आमजनताले मुक्ती पाएका थिए । तिलाबे पुल पर्साको सदरमुकाम वीरगञ्जलाई ग्रामीण क्षेत्रसँग जोड्ने प्रमुख पुल मानिन्छ ।