काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताएका छन् ।

शनिबार अमेरिका र चीन भ्रमणपछि स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा दाहालले यस्तो बताएका हुन् । उनले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने बारेमा छलफल भएको बताए ।

OM Sai Pathibhara Hospital

दहालले दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भई अघि बढाउने सहमति भएको पनि बताए ।

उनले नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने सहमति भएको बताए । उनले स्याँप्रुबेसी रसुवागढी सडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा सिमिकोट सडकको अध्ययन सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमत भएको बताए ।

दाहालले चीनसँग टोखा—छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्र गतिका साथ अघि बढाउने, काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको पनि बताए । उनले नेपाल—चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिटै गर्नेमा सहमति लगायत १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको बताए ।

दाहालले नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाका सञ्चालन हुने बताउँदै मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलङचुङगोला चाँडै सञ्चालनमा ल्याउने सहमति भएको बताए । उनले मुस्ताङको कोरला नाकामा चीनले पूर्वाधारमा सहयोग गर्ने सहमति भएको बताए ।

प्रधानमन्त्री दाहालले तिब्बत र नेपालको रेल, सडक, हवाई सेवा विद्युत् प्रसारण लाइन सबै क्षेत्रबाट जोडेर ट्रान्स हिमालयन मन्टी डाइमेन्सनल कनेक्टीभिटीको विषयलाई व्यवहारमा उतार्नेबारेमा छलफल भएको र लासाबाट काठमाडौं हवाई सेवा पुनः सुचारु गर्नसमेत अनुरोध गरेको बताए ।

प्रधानमन्त्री दाहाल भन्छन्, ‘विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । चिनियाँ राष्ट्रपति शि जिनपिङसँग वार्ता भयो । द्विपक्षीय वार्तामा दुवै देशका विद्यमान अवसर र सम्भावनाहरूको भरपुर सदुपयोग गर्दै आपसी सम्बन्धलाई थप दरिलो बनाउने सन्दर्भमा सघन छलफल गरियो । नेपालको विकास प्रयासमा चीनको साथ र सहयोगमा खुलेर कुरा भयो । नेपाल सधैँ एक चीन नीतिमा रहेको छ । त्यसमा पुनः पुष्टि गर्दै नेपाल चीनको सम्बन्ध, पञ्चशीलको सम्बन्ध र आपसी सम्बन्धलाई भविष्यमा उचाइमा लैजाने बारेमा छलफल भयो । चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने मैले राखेको धारणाप्रति चीनको पूर्ण समर्थन रहने जनाउनु भयो ।

नेपाल र चीनको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल हुनुको साथै दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भई अघि बढाउने कुरा भएको छ । नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने भएको छ । स्याँप्रुबेसी रसुवागढी रसडक मर्मतका लागि चिनियाँ पक्ष तयार हुनुका साथै हिल्सा सिमिकोट सडकको अध्ययन सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमत भएका छन् । दुवै पक्ष टोखा छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्र गतिका साथ अघि बढाउने कुरामा सहमति जनाउँदै काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको छ।

उनले सन् २०२६ सम्म नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न चीनले गरीबि निवारण र आर्थिक समृद्धिको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए। प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी भएका थिए। लगत्तै सेप्टेम्बर २३ देखि ३० सम्म चीन भ्रमणमा सहभागी भएका थिए। उनी अमेरिकाबाट सिधै चीन प्रस्थान गरेका थिए।