काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक हजार दुई सय २३ किलो पटाकासहित तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रौतहट राजदेवी नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दीपक मण्डल, भारतको बिहार बेतिया मजौलिया थाना सेनवरिया ग्राम घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट गाउँपालिका–५ घर भई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डल छन्।

OM Sai Pathibhara Hospital

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीका अनुसार काठमाडौँ जिल्लामा केही व्यक्तिले गैरकानूनी रूपमा भारतबाट पटाका, भुइँचम्पालगायतका आतसबाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ६५ वटा बोरामा राखेका उक्त पटाकासहित काठमाडौं ताहाचल, मान्टारबाट पक्राउ गरेको हो।पक्राउ परेकालाई विष्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको केसीले जानकारी दिए।