सुनसरी    ।    जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराति १२ बजेदेखि धरान प्रवेशमा निषेधाज्ञा गर्ने जनाएसँगै बिहानैदेखि धरान जाने सवारी साधन तरहरा बाटै फर्काइएको छ । बाक्लो मात्रामा प्रहरी परिचालन गर्दै धरान आवतजावत गर्ने सवारी साधन ठप्प भएको हो।FB_IMG_1693056139912

प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउन  सुनसरी,  मोरङ र कोसी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको टोलीलाइ परिचालन गरेको छ ।प्रहरीले सबै सवारी साधनलाई तरहराबाटै फर्काएको छ । 

OM Sai Pathibhara Hospital

प्रशासनकाअनुसार धरान प्रवेश गर्ने पश्चिमतर्फको बराहक्षेत्र नगरपालिका वडा नं. १ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनीको वडा नं. ६ देखि बराहक्षेत्र ३ नडाहातर्फको क्षेत्र, इटहरी २० तरहराको पानीपियादेखिको उत्तरतर्फको क्षेत्र, धरान ५ प्रवेश गर्ने मोरङको केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारतर्फबाट धरानतर्फको क्षेत्रमा निषेध गरिएको छ । धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरसहित पहाडी जिल्लाबाट आउने सवारीसाधन भेडेटारमै रोकिएका छन् । उदयपुरसहित विभिन्न ठाउँबाट धरान आवतजावत गर्नेहरू चतरामा रोकिएका छन् 

खासगरी पछिल्लो समय धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि पहिचान पक्षधर र हिन्दू पक्षधरहरूबीच आरोप, प्रत्यारोप सुरु भएसँगै भदौ ९ गते आज हिन्दुवादीहरूले शान्तिपूर्ण र्याली प्रदर्शन गर्ने कार्यक्रमसमेत तय गरेका थिए।

धरानमा पछिल्लो समय गोवध प्रकरण र धरान उपमहानगरपालिकास्थित मन्दिरकै छेउमा निर्मित चर्च काण्डबारे शनिबार विरोध गरिने कार्यक्रम तय थियो । श्रीवैश्णव परिषद् नेपाल, विश्व हिन्दु परिषद् नेपाल, समग्र वैदिक सनातन समुदाय, शिवसेना नेपाललगायत गौवंश हत्याको विरोधमा भदौ ९ गते गोरक्षा शान्ति र्याली आयोजना गर्ने तयारीमा जुटेका छन ।

शुक्रबार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरानलाई २४ घण्टाका लागि निषेधाज्ञा गर्ने निर्णय गरेकी थिइन् । धरान उपमहानगरपालिका क्षेत्रमा रहेका सबै वडा कार्यालयसहित सम्बन्धित निकायले शम्युक्त आदेश लागू गर्न जनाइएको छ । आदेश विपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले सुनसरी प्रशासनले गएराति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा गरेसँगै  धरानका सबै वडाहरू र धरान प्रवेश गर्ने सबै सवारी साधनमा रोक लगाइएको साथै शान्ति सुरक्षामा कडाई गरिएको बताएका छन ।