काठमाडौं। ब्रेक शु र भेपभित्रको सुनको कनेक्सन हुनसक्ने केही आधारहरू देखिएपछि प्रहरीले दुवै घटनालाई राखेर अनुसन्धान गरिरहेको छ। गत पुस १० गते फ्लाई दुबईबाट चिनियाँ नागरिकले २ वटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप (इलेक्ट्रिक चुरोट) ल्याएका थिए। विदेशबाट विद्युतीय चुरोट (भेप) भित्र ल्याएको सुन प्रकरणमा समातिएकामध्ये ५ जनालाई पुर्पक्षका लागि थुनामा छन् ।जिल्ला अदालत काठमाडौंको आदेशमा ५ जनालाई कारागार चलान गरिएको हो। प्रहरीले त्रिभुवन भन्सार कार्यालयका नासु रेवन्त खड्का, सुरक्षा गार्ड निर्मल विक, अमृत कार्की र भन्सार एजेन्ट दिनेश बस्नेत तथा व्यापारी साहेब राव पाङ्डुरङ मरग र वेदप्रसाद अग्रवाललाई पक्राउ गरेको थियो। जसमध्ये अमृत साधारण तारेखमा रिहा भएका छन्।

उनीहरूविरुद्ध आपराधिक विश्वासघात गर्न नहुने र संगठित अपराधमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। यो मुद्दामा गोपाल सुवेदी, दिपेश बस्नेत र राम केशव थापा भने फरार छन्। सुनसहितको भेप भन्सार कार्यालयले जफत गरेको थियो। तर जफत गरिएको भेपभित्रको सुन भन्सारका नासु रेवन्त खड्का र भन्सार एजेन्ट दिनेश बस्नेतले भन्सारको गोदामबाट नै चोरी गरेका थिए। घटना बाहिरिएपछि सीआइबीको अनुसन्धानको क्रममा ९ जनालाई प्रतिवादी बनाइएको थियो।फरार रहेका २९ वर्षीय सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाका दीपेश बस्नेत हुन्। उनको कनेक्सन अहिले ‘ब्रेक शु’ प्रकरणमा पनि देखिएको छ। राजस्वको टोलीले पनि अनुसन्धानका क्रममा दीपेश र सुन तस्करीका दुई घटनाको कनेक्सन हेरेको थियो। दीपेश भेप प्रकरणमा पक्राउ परेका दिनेश बस्नेतका आफ्नै भाइ हुन्। चोरी गरेको ९ किलो सुन उनै भाइ दीपेशमार्फत व्यापारीलाई बिक्री गरेका थिए। जसमा दीपेशका भिनाजु गोपाल सुवेदी पनि जोडिएका थिए।

OM Sai Pathibhara Hospital

गोपाल सुवेदी पनि अहिले फरार सूचीमा छन्। सुरुमा चोरी भएको सुनमध्ये ८० ग्राम सुन बोकेर तीन जना न्यूरोडमा बिक्री गर्न पुगेका थिए। त्यसको ६ लाख रुपैयाँ लिएर तीन नै जना फर्किएपछि दीपेशले पटक–पटक गरेर सुन बिक्री गरेको प्रहरीको बयानमा दिनेशले खुलाएका छन्। दीपेश पनि भन्सार एजेन्ट हुन्। राजश्व अनुसन्धान विभागको छानबिनले भने तेस्रो देशको नागरिकता लिएर बसेका चिनियाँ नागरिकको सञ्जाल देखाएको छ ।साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले १८ दिन लगाएर संकलन गरेको प्रमाणसहितको सबै मिसिल प्रहरीलाई जिम्मा लगाएको छ । १८ जना पक्राउ गरेको विभागले स्वास्थ्य समस्या भएकी रुकमिना सुब्बालाई हाजिरी जमानीमा छोडेर १७ जना सीआईबीको जिम्मा लगायो । विभागले संकलन गरेको तथ्यअनुसार नेपालमा बसेर सुन ¥याकेट चलाउने चिनियाँ समूह निकै ठूलो छ । विभागले सबैभन्दा अन्तिममा पक्राउ गरेका चिनियाँमूलका वेल्जियम नागरिक दाबा छिरिङ नेपालका मुख्य नाइके भएको अनुसन्धानले देखाएको छ । उसैको योजना अनुसार चिनियाँ मुलकै अन्य व्यक्ति जोडिएका हुन् । पक्राउ गरेका बेल्जियम नागरिक दावा छिरिङ र चिनियाँ नागरिक जेक्यूयाङ लिन माथि बढी केन्द्रित भएर अनुसन्धान गरिरहेको छ।

दावा लामो समयदेखि नेपालमा बसेर अन्य आपराधिक गतिविधि गर्दै आएको प्रहरीको रेकर्डले नै देखाउँछ। तर शक्ति केन्द्रको आडमा उनी प्रहरीको अनुसन्धान घेराभन्दा बाहिर नै रहे। दावाको सम्बन्ध नेपाल प्रहरीका उच्च कर्मचारीदेखि नेताहरूसम्म भएको देखिएको छ। प्रहरीले बरामद गरेको दावाको मोबाइल डाटा रिकभरको लागि ल्याबमा दिइसकेको छ। उनको मोबाइल केही दिनअघि मात्र फर्म्याट गरेको देखिएको छ। दावाले नै नेपालमा चिनियाँ नागरिकहरूलाई ल्याउने र आपराधिक गतिविधिका संलग्न गराउने गरेको देखिएको छ। दावाअघि पक्राउ परेका चिनियाँ मूलका भारतीय नागरिक थुप्तेनले नै विमानस्थलबाट कर्मचारी मिलाउने काम गरेका थिए । चिनियाँ, हिन्दी, अंग्रेजी र नेपाली भाषाको राम्रो जानकार थुप्तेङले नै हर्क राईलाई सम्पर्कमा ल्याएका थिए । हर्कले नै गाडीदेखि स्कुटरको व्यवस्था मात्र मिलाएका थिएनन् भन्सार एजेट राजेन्द्र राईसँग सम्बन्धसमेत बताएको अनुसन्धानबाट देखिएको छ ।सुन तस्करीका लागि ब्रेक सु ल्याउने नाममा रामकुमार भुजेल र दिलिप भुजेलको नाममा रेडि ट्रेड खोल्न लगाउने राजेन्द्र राईनै हुन् । थुप्तेन यसअघि गैंडाको खाग तस्करी आरोपमा तीन वर्ष जेल सजाय भुक्तान गरेर निकालिएका व्यक्ति हुन् । तर उनी पुनः नेपाल आएर सुन तस्करीको समूहमा संलग्न भएको देखिएको छ ।विमानस्थलबाटै पक्राउ परेका लिन चिनियाँ नै हुन । सुन ल्याउन तेस्रो देशको नागरिकता लिएका दावा मार्फत नेपाल आएका चिनियाँ राहदानीबाहक लिनको जिम्मेवारी विमानस्थलबाट निकालिएको सामान टोखास्थित स्टोरसम्म पुर्याउने थियो । पक्राउ परेका भन्दा माथि पनि चिनियाँ नै हुन सक्छन् । यो सबै मिलाउने नेपालीको नेतृत्व कस्ले गरेको थियो त्यहाँसम्म विभाग पुग्न सकेको थिएन । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै चोरिएको विद्युतीय चुरोटमा ल्याइएको सुनमा पनि चिनियाँ नागरिक जोडिएको थियो । भेपभित्र राखेर ९ किलो सुन ल्याउन असफल भएपछि तस्कर समूहले ब्रेक शुभित्र सुन राखेर ल्याउन थालेको त होइनन् ? सुन समातिएको  करिब तीन महिनापछि रेडी ट्रेडर्सको नाममा कम्पनी खोलिनु, त्यसपछि सोही कम्पनीको नाममा हङकङबाट लगातार २२ पटकभन्दा बढी सामान आउनुले दुई घटनाको कनेक्सन त होइनन् ? दुवै घटना चिनियाँ नागरिकको संलग्नता देखिएको छ। उनीहरूले विमानस्थलका कर्मचारीदेखि भन्सार एजेन्टसम्म प्रयोग गरेका छन्। त्यस्तै विदेशबाट आउने सामानभित्र सुन राखिएको छ।

चिनियाँ र चिनियाँ मूलका अन्य देशका नागरिक एउटै सञ्जालमा बसेर नेपालबाट सुन तस्करी के प्रयोजनका लागि गरिरहेका थिए ? हङकङबाट सुन पठाउने को थियो र नेपालको मुख्य सम्पर्क व्यक्तिसँगै भारतसम्म लैजाने को थियो । यो समूहले २३ औं पटक ल्याएको सामान विभागले बरामद भएको हो । सीआईबीले नै अनुसन्धान गरेको भेपमा सुन ल्याउने चिनियाँ र एक क्विन्टल सुन ल्याउने एउटै समूह हुन सक्ने भएकाले एकै ठाउँमा राखेर अनुसन्धान गर्ने तयारी गरेको छ । दुवै घटनामा एउटै चिनियाँ समूहको कनेक्सन त छैन ? पहिलो घटनामा फरार चिनियाँको बारेमा थप अनुसन्धान गरे केही खुल्न सक्छ। दुवै घटनामा एकै चिनियाँ समूहको संलग्नता देखियो । यो घटनामा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल पनि जोडिए। तर उनीहरू अनुसन्धानको घेरामा परेनन्।