काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँने गरिन्छ ।
शास्त्रमा पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्व मनाइने परम्परा छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ ।
वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ।
सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए।
यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।
वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ ।
भगवान रामले बनाए मातातिर्थ कुण्ड
त्रेतायुगमा दशरथपुत्र मर्यादा पुरुषोत्तम श्रीराम वनवास कालमा लक्ष्मण र सीताका साथमा घुम्दै हालको मातातीर्थको स्थलमा पुगे।
भगवान राम भन्ने थाहा नपाएर अपरिचित ब्यक्ति सम्झदै स्थानीयले उनीहरु माथी आक्रमण गर्न सुरु गरे। त्यसपछि श्रीराम र स्थानीयका बीचमा घमसान युद्ध भयो।
सो घमसान युद्धमा दुवै पक्ष थकित र भोक–प्यासले आकुलब्याकुल भए । माता सीता पनि प्यासले आकुल ब्याकुल भईन।
माता सिता पानि प्याँसले आकुल ब्याकुल भए पछि भगवान रामले वरिपरि पानीको खोजी गरे कतै पनि पिउनका लागि पानी भेटिएन।
पानी कतै पनि नभेटिएपछि भगवान् श्रीरामले गंगा मातालाई पुकार्न थाले। ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जब श्रीरामले माता गंगालाई पुर्कादै जमिनमा बाण प्रहार गरे, छेउमै पानीको कुण्ड बन्यो।
उक्त कुण्डमा पानी उघाउन जाँदा सीताजीले सारा ब्रह्माण्डको दर्शन पाइन। कुण्डको जलमा उनको छाया पर्नासाथ भित्रको ढुंगामा उनको मूर्ति समेत कुँदिन पुग्यो।
यसरी साक्षात् गंगा मातालाई आह्वान गरी भगवान् श्रीरामले उत्पत्ति गरेको पवित्र कुण्डलाई मातातीर्थ भनिन थालिएको धार्मिक मान्यता छ।
अर्को किवदन्ती
प्राचीन समयमा गाई चराउन आएका गोठालाहरूले कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए। एउटा गोठालाले रोटी खान खोज्दा मुखमा रोटी नपरी नजिकैको कुण्ड भएतिर जान थाल्यो।
रोटीको पछि लागेर कुण्डमा गएर हेर्दा त्यो गोठालोले मृत्यु भईसकेकी आमाको दर्शन पाएछ। घर फर्कने बेलामा गोठालाले आमालाई सँगै घर लाने र आमाबिना एक्लै नफर्कने जिद्दी गर्न थाले।
त्यसपछि कुण्डमा छाँयाको रुपमा आएकी आमाले छोरालाई प्रत्येक वैशाख औंसीको दिन यस तीर्थमा सन्तानलाई आशीर्वाद दिन आउने वाचा गर्दै जिद्धी गर्दैै गरेका छोरालाई घर फर्काइन्।
मृतक आमा पनि मातातीर्थमा आउने जनविश्वास रहदैँ आएको छ। कुण्डमा आज पनि दिवंगत आमाहरू आई सन्तानले दिएको पिण्ड–तर्पण प्राप्त गरी पूर्वयात्रामा फर्किन्छन् भन्ने विश्वासले यस पवित्रस्थललाई मातातीर्थ भनिएको हो।