काठमाडौँ   ।    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भएका हुन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गत सोमबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको औपचारिक निम्तो दिएका छन । राजदूत श्रीवास्तवले अघिल्लो साता प्रधानमन्त्री प्रचण्डको चाँजोपाँजो मिलाउन दिल्ली गएका थिए ।

OM Sai Pathibhara Hospital

आइतबार दिल्लीबाट फर्किएलगत्तै राजदूत श्रीवास्तवले सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणको विषयमा छलफल गरेका छन ।

प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिएका थिए । तर, नेपालको आन्तरिक राजनीतिमा भएको उतारचढावले प्रधानमन्त्रीको भारत भ्रमण ढिला हुँदै आएको थियो ।

स्रोतका अनुसार जाने निश्चित मिति भने तय भएको छैन तर वैशाख तेस्रो साता दिल्ली जाने चाहिँ टुंगिएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको मिति टुंग्याउने छ ।

परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमण्को तयारी सुरू गरेको छ ।